विधानमा सहमति गर्न ‘लास्ट’ चोटीलाई कांग्रेस केन्द्रीय समिति बैठक
गुट उपगुट खडा गरेर पार्टीलाई डुबाएको आरोप लगाएपछि शीर्ष नेताहरु गम्भीर
प्रकाशित २०७५ पुष १ आइतबार
842
Shares
काठमाडौं । काठमाडौंमा जारी नेपाली कांग्रेसको महासमिति बैठकको दोस्रो दिनको समाप्तिसम्मसमेत पार्टीको विधान बैठकमा प्रस्तुत हुन सकेको छैन ।
पार्टीको विधानमा मुख्य गरी नेताहरुबीच पदाधिकारीको संख्या र पदाधिकारी चयनको प्रक्रियाबारे विवाद कायमै छ ।
सभापति शेरबहादुर देउवा, वरिष्ठ नो रामचन्द्र पौडेल र महामन्त्री डा शशांक कोइरालाका छुट्टाछुट्टै पदाधिकारी संख्या र चयनका लिष्ट छन् । कांग्रेस विधानमा नेताहरुको अलग अलग प्रस्ताव, कसरी खोजिँदैछ सहमति यसले गर्दा महासमिति सदस्यहरुले शीर्ष नेताहरु स्वार्थी भएको आरोप समेत लगाएका छन् ।
महासमिति बैठकमा पाँच विषयमा प्रस्ताव पारित गर्नुपर्नेछ । चार प्रस्ताव केन्द्रीय समितिले पारित गरे पनि विधान पारित गर्न सकेको छैन । अन्तिम पटकलाई भन्दै केन्द्रीय समितिले विधान प्रस्ताव पारित गर्नका लागि सोमबार बिहान बैठक बोलाइएको छ ।
महासमिति बैठक सिंहदरबार बाहिर चलिरहँदा बिहान ९ बजे सिंहदरबारभित्र काँग्रेस संसदीय दलको कार्यालयमा केन्द्रीय सदस्यहरुले लास्ट चोटीलाई भन्दै विधानमा सहमति खोज्नेछन् ।
महासमिति बैठकस्थलको नजिकै केन्द्रीय समिति बैठक बस्दा समयको बचत हुने एक केन्द्रीय सदस्यले बताएका छन् ।
महामन्त्री पूर्णबहादुर खड्काको संयोजकत्वमा गठित विधान मस्यौदा समितिले पार्टीको नयाँ विधानको खाका तयार गरे पनि पदाधिकारीको चयन र संख्याको विषयमा विवाद हुँदा पारित हुन सकेको छैन ।
महासमिति बैठक पुस ३ गते मंगलबार सकिँदै गर्दा महत्वपूर्ण काम नयाँ विधान नै पारित नहुने होकि भन्ने आशंका बढिरहँदा शीर्ष नेताहरु दवावमा छन् ।
महासमिति बैठकमा सहभागी सदस्यहरुले आफ्नो व्यक्तिगत स्वार्थका लागि शीर्ष नेताहरुले गुट उपगुट खडा गरेर पार्टीलाई डुबाएको आरोप लगाएपछि शीर्ष नेताहरु गम्भीर बनेका हुन् ।