एनएस प्रमाणपत्र नलिएका ग्यास उद्योगलाई सञ्चालन गर्न नदिन आग्रह
प्रकाशित २०७४ पुष २० बिहिबार
597
Shares
काठमाडौँ । नेपाल गुणस्तर तथा नापतौल विभागले नेपाल गुणस्तर (एनएस) चिह्न नलिएर सञ्चालित भएका ग्यास उद्योगलाई सञ्चालन गर्न नदिन नेपाल आयल निगमलाई आग्रह गरेको छ ।
विभागले बिहिवार निगमलाई पत्राचार गरी नेपाल गुणस्तर प्रमाण चिह्न ऐन, २०३७ अनुसार गत वर्षको कात्तिकमा तीन महिनाभित्र नेपाल गुणस्तर चिह्न लिएर सञ्चालन गर्न सूचना प्रकाशित गरेपनि हालसम्म सो सूचनाको कार्यान्वयन नगरेका उद्योगलाई कारबाही गर्न आग्रह गरेको हो ।
विभागका महानिर्देशक विश्वबाबु पुडासैनीले मापदण्ड विपरीत सञ्चालन गर्दा असुरक्षित भई जनसाधारणलाई क्षति पुग्ने भएकाले अनिवार्य रुपमा एनएस चिह्न लिई सञ्चालन गर्न आग्रह गरिएको जानकारी दिए ।
“एनएस प्रमाणपत्र प्राप्त उद्योगहरु मात्र सञ्चालन गर्न पाउने कानुनी प्रावधान छ, यसलाई पालना गर्नका लागि हामीले नेपाल आयल निगमलाई पत्राचार गरेका हौँ,”– उनले भने ।
विभागका अनुसार हालसम्म मनोज ग्यास वीरगन्ज, नेपाल ग्यास काठमाडौँ तथा श्रीकृष्ण ग्यास र साइबाबा ग्यास धादिङले मात्र गुणस्तर चिह्न प्राप्त गरेका छन् ।