arrow

नेपाली कांग्रेस र कांग्रेस बीपीबीच एकता संवाद

logo
हाम्रा कुरा
प्रकाशित २०८३ साउन ११ सोमबार
congress-congress-bp-talk-83-4-11.jpg

काठमाडौँ । नेपाली कांग्रेसका केन्द्रीय सदस्य अर्जुननरसिंह केसीको स‌ंयोजकत्वमा गठित अन्य राजनीतिक दल संवाद समितिले आज नेपाली कांग्रेस बीपीसँग छलफल गरेको छ । दुई दल एकताका आधार सम्बन्धमा कांग्रेस बीपीले संवाद गर्ने पत्र पठाएसँगै आज पुनः छलफल भएको केसीको सचिवालयले जनाएको छ । 

बैठकमा नेपाली कांग्रेसका तर्फबाट संयोजक केसीसँगै सदस्यद्वय उज्जलप्रसाद बराल र प्रदीपराज शर्मा तथा नेपाली कांग्रेस बीपीको तर्फबाट सभापति सुशीलमान शेरचन, झलकनाथ वाग्ले र अशोक खड्का उपस्थित रहेका थिए । 

छलफल सकारात्मक रहेको संयोजक केसीका सचिवालय सदस्य सरोज केसीले जानकारी दिए । यसअघि नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको गत वैशाख २ गतेको बैठकले केसीको संयोजकत्वमा संवाद समिति गठन गरेको थियो । 

विभिन्न पार्टी परित्याग गरी कांग्रेसमा समाहित हुन खोज्नेहरू र विभिन्न पार्टी नै समायोजन गर्ने सम्बन्धमा विषयहरू उठेपछि नेता केसीको संयोजकत्वमा यो समिति नै गठन भएको हो।
 
यस क्रममा समितिले विभिन्न पक्षहरूसँग संवाद गरिरहेको जनाएको छ । गत वर्ष फागुन १७ गते नै नेपाली कांग्रेस बीपी र नेपाली कांग्रेस पार्टीबीच एक खालको सहमति भएको थियो। 

यो सहमतिले मूर्त रूप लिन नपाएकामा पुनः नेपाली कांग्रेस बीपीले केन्द्रीय कार्यसमितिको बैठक गरी गत साउन ६ गतेको पत्रमार्फत पुनः संवाद गर्ने सन्देश दिएसँगै आज दुवै दलका प्रतिनिधिमण्डलबीच दुई दलबीच एकताको आधार सम्बन्धमा बृहत छलफल भएको हो । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ