काठमाडौं । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पार्टी एकता सहमतिउन्मुख दिशामा अघि बढेको बताएका छन्। पार्टी एकताका लागि दबाब दिन नेपाल नगरपालिका सङ्घका अध्यक्ष भीम ढुङ्गानाको नेतृत्वमा आएको कांग्रेस समर्थित स्थानीय तहका जनप्रतिनिधिहरूसँगको भेटमा उनले वर्तमान चुनौतीहरूको सामना गर्न पार्टी एकता अपरिहार्य रहेको स्पष्ट पारे।
भेटका क्रममा सभापति थापाले एकतामा आँच आउने वा असर पुग्ने किसिमका कुनै पनि कार्य नगर्न सबैसँग आग्रह गर्दै, दबाब अभियानले आगामी साउन १६ गतेका लागि तय गरेको राष्ट्रिय भेला समेत स्थगित गर्न आग्रह गर्नुभएको अभियानका संयोजक ढुङ्गानाले जानकारी दिए। असन्तुष्ट नेताहरूसँग छलफल गरी सहमतिको ठोस खाका तयार पार्न दुई जना सदस्यको नाम मागिएको र सोही आधारमा एक–दुई दिनभित्रै चार सदस्यीय कार्यदल गठन हुने जानकारी पनि उनले दिए।
त्यस अवसरमा स्थानीय तहका जनप्रतिनिधिहरूले पार्टी एकताबिना जनतामा आशा जगाउन र पार्टीको साख फर्काउन नसकिने भन्दै तत्काल एकताको वातावरण बनाउन जोड दिएका थिए। सभापति थापाले कांग्रेस एकताबद्ध भएर अगाडि बढ्नेमा आफू पूर्ण रूपमा आश्वस्त रहेको बताएको सहभागी नगरप्रमुखहरूले जनाएका छन्। भेटमा विभिन्न स्थानीय तहका प्रमुख तथा प्रतिनिधिको उल्लेख्य सहभागिता रहेको थियो।