एमालेलाई कमजोर पार्ने षड्यन्त्र भइरहेको छ : शंकर पोखरेल
हाम्रा कुरा
प्रकाशित २०८३ साउन ९ शनिबार
77
Shares
काठमाडौँ। नेकपा एमालेका महासचिव शंकर पोखरेलले पार्टीभित्र रहेका कमजोरी र सफलताका पक्षलाई समग्र रूपमा मूल्याङ्कन गर्नुपर्ने बताएका छन्।
नरबहादुर कर्माचार्यको १३औँ स्मृति दिवसका अवसरमा आयोजित कार्यक्रममा बोल्दै उनले आलोचनाले सुधार गर्नुपर्ने क्षेत्र पहिचान गर्न सहयोग पुग्ने बताए।
पोखरेलले एमालेप्रति विभिन्न समूहको दृष्टिकोण फरक-फरक रहेको उल्लेख गर्दै एकातिर आफूहरूलाई कम्युनिस्ट नै नमान्ने र अर्कोतर्फ अत्यधिक कम्युनिस्ट ठानेर आक्रमण गर्ने प्रवृत्ति देखिएको टिप्पणी गरे।
उनले भने, “हाम्रा मित्रहरूले हामीलाई कम्युनिस्ट देख्नुभएन। पूँजीवादी र साम्राज्यवादीहरूले भने हामीलाई धेरै कम्युनिस्ट ठानेर भदौ २३ र २४ गते सडकमा पछार्ने काम गरे।”
एमालेभित्र कमजोरी रहेको स्वीकार गर्दै उनले पार्टीका सबल र सफल पक्षका कारण नै विभिन्न शक्तिबाट निरन्तर निशाना बनाइएको दाबी गरे।
“कमजोरीबाट कोही पनि मुक्त हुँदैन। हामीभित्र पनि कमजोरी छन्, तर सफलताका सबल पक्ष पनि छन्। केही हुँदैनथ्यो भने शत्रुहरू पनि हुँदैनथे,” उनले भने।
महासचिव पोखरेलले एमाले अहिले पनि निरन्तर प्रहारको निशानामा रहेको दाबी गर्दै पार्टीको अस्तित्व र भविष्यलाई नै चुनौती दिने प्रयास भइरहेको बताए।
उनले पूँजीवादी तथा साम्राज्यवादी शक्तिका लागि एमाले वास्तवमै चुनौती नभएको भए किन निरन्तर प्रहार भइरहेको छ भन्ने विषयमा वस्तुनिष्ठ समीक्षा आवश्यक रहेको धारणा राखे।