काठमाडौं । नेपाल कम्युनिष्ट पार्टीका संयोजक एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले हालै देखिएको राजनीतिक घटनाक्रमले नेपालको राजनीतिक नेतृत्व, सुरक्षा संयन्त्र तथा वामपन्थी आन्दोलनका कमजोरीहरूबारे गम्भीर समीक्षा गर्नुपर्ने बताएका छन्। ४८औँ पुष्पलाल स्मृति दिवसको सन्दर्भमा आयोजित ‘वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलहरूको भूमिका’ विषयक विचार गोष्ठीलाई सम्बोधन गर्दै उनले २०८२ भदौ २३ र २४ गते भएको घटनाक्रमलाई प्रतिक्रान्तिकारी परिघटनाको संज्ञा दिँदै त्यसमा वैदेशिक दबाब र हस्तक्षेप स्पष्ट रूपमा देखिएको दाबी गरेका हुन्।
गोष्ठीमा उनले नेपालको सुरक्षा निकायको भूमिका र समग्र राजनीतिक शक्तिको अवस्थाप्रति प्रश्न उठाउँदै सुगौली सन्धिपछिको इतिहासमा पनि यस्तो निरीहता नदेखिएको बताए। विगतमा अंग्रेजहरूसँग वीरतापूर्वक लड्ने नेपाली सेना र कमाण्डरहरूको इतिहास स्मरण गर्दै उनले अहिलेको अवस्था किन सिर्जना भयो भन्ने प्रश्न गरे।
विगतमा विभिन्न सङ्घर्ष र जनआन्दोलनमार्फत जनताको शक्ति प्रदर्शन गरे पनि भदौ २३ र २४ गतेको घटनासम्म आइपुग्दा वामपन्थी दलहरू किन यति निरीह र शक्तिहीन भए भन्ने विषयमा वैज्ञानिक समीक्षा नगरी आजका चुनौतीहरूको सामना गर्न नसकिने उनको ठहर छ। सामान्य समीक्षा र आत्मआलोचनाले मात्र अब नपुग्ने स्पष्ट पार्दै उनले वामपन्थी आन्दोलनबाट कतै गम्भीर त्रुटि भएको स्वीकार गरे।
उनले भने, ‘अंग्रेजसँग वीरतापूर्वक लड्ने नेपाली, नेपाली सेना र कमाण्डरहरू भएको शक्ति अहिले आएर यो अवस्थामा के ले पुग्यो ? हामीले हिजो सामन्ती निरंकुशतन्त्रका दमन र अत्याचारविरुद्ध कहिले सशस्त्र संघर्ष, कहिले शान्तिपूर्ण आन्दोलन, कहिले जनयुद्ध र कहिले जनआन्दोलनमार्फत नेपाली जनताको विद्रोहको तागत प्रदर्शन गरेका थियौं । तर भदौ २३ र २४ गतेको घटनासम्म आइपुग्दा वामपन्थी दलहरू किन यति निरीह र शक्तिहीन भए ? त्यसको समुचित, यथोचित र वैज्ञानिक समीक्षा नगरी आजका चुनौतीहरूको सामना गर्न सकिँदैन ।’
साथै, आफ्नै आँखाअगाडि नेपालका ऐतिहासिक धरोहरहरू र विभिन्न राजनीतिक दलका पार्टी कार्यालयहरूमा आगजनी गरिनुका साथै इतिहाससँग सम्बन्धित सामग्रीहरू एकै दिनमा जलाइने परिघटना किन र कसरी भयो भन्ने विषयमा गहिरो विश्लेषण आवश्यक रहेको उनले बताएका छन्।
उनले भने, ‘हामीले कहीँ न कहीँ यति भयानक परिस्थिति सिर्जना हुने, हाम्रा आँखाअगाडि नेपालका धरोहरहरू जलाइने, सबै राजनीतिक दलका पार्टी कार्यालयहरू जलाइने, त्यहाँ रहेका इतिहाससँग सम्बन्धित थुप्रै सामग्रीहरू जलाइने र एकै दिनमा विध्वंस गर्ने परिघटना के कारणले भयो भन्ने विषयमा गम्भीर समीक्षा गर्नुपर्छ ।’