भैंसेपाटीस्थित मन्त्री निवासलाई बाल आश्रयमा रूपान्तरण गर्न रविन्द्र मिश्रको आग्रह
हाम्रा कुरा
प्रकाशित २०८३ साउन ११ सोमबार
222
Shares
काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का पूर्वनेता रविन्द्र मिश्रले महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री सिता बादीलाई भैंसेपाटीस्थित मन्त्री निवासलाई दक्षिण एसियाकै नमुना बाल आश्रयमा रूपान्तरण गर्न प्रधानमन्त्रीसमक्ष प्रस्ताव राख्न आग्रह गरेका छन्।
सोमबार सामाजिक सञ्जालमार्फत आफ्नो धारणा सार्वजनिक गर्दै मिश्रले भैंसेपाटीमा करिब तीन अर्ब रुपैयाँको लागतमा निर्माण गरिएको र हाल करिब ४० करोड रुपैयाँ खर्चेर पुनर्निर्माण भइरहेको आलिसान मन्त्री निवासलाई बाल आश्रयमा परिणत गर्नुपर्ने बताएका हुन्। विश्वका सुशासित मुलुकहरूमा मन्त्रीहरूका लागि यति भव्य सरकारी निवासको व्यवस्था सामान्य अभ्यास नभएको उल्लेख गर्दै उनले यसलाई ‘पापी निवास’ समेत भन्ने गरेको बताए।
मन्त्रीहरूलाई भव्य महलमा राख्नुको सट्टा आधुनिक अपार्टमेन्ट भवनको विभिन्न तलामा बस्ने व्यवस्था मिलाएमा सुरक्षा र सरकारी खर्च दुवै दृष्टिकोणबाट उपयुक्त हुने उनको तर्क छ। साथै, मन्त्री बादीले बाल मन्दिर पुनर्निर्माणका लागि दिएको निर्देशनको स्वागत गर्दै, बाल आश्रयमा बिताएको उनको व्यक्तिगत अनुभवले यस विषयको महत्व अझ गहिरो रूपमा बुझ्न मद्दत पुग्ने विश्वास समेत मिश्रले व्यक्त गरेका छन्।