सुरुङमार्ग निर्माणले दूरी, इन्धन र जोखिम घटाउँछ: मन्त्री लम्साल
हाम्रा कुरा
प्रकाशित २०८३ साउन ११ सोमबार
465
Shares
काठमाडौं । भौतिक पूर्वाधार तथा यातायातमन्त्री सुनिल लम्सालले सुरुङमार्ग निर्माणको मुख्य उद्देश्य सडक दूरी छोट्याउनु, इन्धनको खपत घटाउनु तथा यात्रालाई सुरक्षित र सहज बनाउनु रहेको बताएका छन्।
सोमबार नागढुंगा सुरुङमार्ग उद्घाटन समारोहपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै मन्त्री लम्सालले सुरुङमार्ग निर्माणको आवश्यकता मुख्यतया सडकको दूरी, सवारीसाधनको चाप (भायबिलिटी) र भौगोलिक जोखिमका आधारमा निर्धारण हुने प्रष्ट पारे। लामो दूरी घुमेर यात्रा गर्दा इन्धनको बढी खपत हुने भएकाले सुरुङमार्गले यात्रा छोट्याएर इन्धन तथा यातायात लागत बचत गर्ने उनको भनाइ छ।
मन्त्री लम्सालका अनुसार कुनै सडक खण्डमा सुरुङमार्ग निर्माणबाट दूरी उल्लेखनीय रूपमा घट्ने र त्यस मार्गमा पर्याप्त सवारी चाप हुने अवस्था भएमा त्यस्ता परियोजनाहरू अत्यन्त उपयुक्त हुन्छन्। यस्ता महत्वपूर्ण पूर्वाधार निर्माणसम्बन्धी निर्णयहरू पूर्ण रूपमा ‘सम्भाव्यता परीक्षण’ (व्यवहार्यता अध्ययन) का आधारमा मात्र गरिने उनले उल्लेख गरे।
त्यस्तै, पहिरोको उच्च जोखिम रहेका भौगोलिक क्षेत्रहरूमा पनि सुरुङमार्ग एक अत्यन्त प्रभावकारी विकल्प बन्ने बताउँदै मन्त्री लम्सालले सरकारले आगामी दिनका योजनाहरूमा पनि यस्ता संवेदनशील स्थानहरूलाई प्राथमिकतामा राखेर सुरुङमार्ग निर्माणका कार्यहरू अघि बढाइरहेको जानकारी दिएका छन्।