राजर्षि जनक विश्वविद्यालयको समस्या समाधान र शैक्षिक सुधारमा सरकार प्रतिबद्ध: मन्त्री पोखरेल
हाम्रा कुरा
प्रकाशित २०८३ साउन ११ सोमबार
183
Shares
काठमाडौँ । शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले राजर्षि जनक विश्वविद्यालयको समस्या समाधान र समग्र शैक्षिक सुधारका लागि सरकार दृढ रूपमा प्रतिबद्ध रहेको बताएका छन्। विश्वविद्यालयको वस्तुस्थिति बुझ्न र आगामी कार्यदिशाबारे छलफल गर्न जनकपुर पुगेका मन्त्री पोखरेलले विश्वविद्यालयलाई थप परिष्कृत र व्यवस्थित ढङ्गले अगाडि बढाइने स्पष्ट पारेका हुन्।
विश्वविद्यालयका पदाधिकारीहरूसँगको परामर्शका क्रममा मन्त्री पोखरेलले विशेषगरी भौतिक पूर्वाधार निर्माण र जग्गा प्राप्तिको विषयमा गम्भीर चासो व्यक्त गरेका छन्। विश्वविद्यालयको आफ्नै भवन नहुँदा परेका कठिनाइहरूबारे चर्चा गर्दै उनले जग्गा प्राप्तिको कानुनी प्रक्रियालाई छिटोभन्दा छिटो टुङ्ग्याएर निर्माण कार्य सुरु गरिने आश्वासन दिएका छन्।
भ्रमणका क्रममा मन्त्री पोखरेलले विद्यार्थीहरूलाई विभिन्न खेलकुद सामग्रीसमेत हस्तान्तरण गरेका छन्। करिब दुई महिनाअघिको जनकपुर भ्रमणका बेला विद्यार्थीहरूले खेलकुद सामग्रीको अभाव रहेको भनी राखेको गुनासोलाई सम्बोधन गर्दै उनले क्रिकेट ब्याट, बल र फुटबललगायतका सामग्रीहरू उपलब्ध गराएका हुन्। आफ्नै पूर्वप्रतिबद्धता अनुरूप विद्यार्थीको माग पूरा गर्न पाउँदा खुसी लागेको उनले बताए।
मधेश प्रदेशलाई ‘साक्षर प्रदेश’ घोषणा गर्ने अभियानका सन्दर्भमा बोल्दै मन्त्री पोखरेलले यसअघि नै प्रतिवेदन तयार गरी प्रदेश सरकारलाई हस्तान्तरण गरिसकिएको जानकारी दिएका छन्। उक्त अभियानको प्रगति सन्तोषजनक रहेको उल्लेख गर्दै उनले यस विषयमा थप समन्वयका लागि प्रदेश प्रमुख तथा सम्बन्धित एकाइ प्रमुखहरूसँग छलफल गर्ने योजना रहेको स्पष्ट पारे।
शिक्षा क्षेत्रमा थुप्रै चुनौतीहरू रहे पनि तीनै चुनौतीभित्र अवसरहरू खोज्दै सरकार अगाडि बढिरहेको मन्त्री पोखरेलको भनाइ छ। समस्याको पहिचान र समाधान गर्दै चुनौतीलाई अवसरमा रूपान्तरण गर्ने उद्देश्यका साथ सरकारले काम गरिरहेको उनले दोहोर्याएका छन्