arrow

यस्तो छ माइतीघर डुबानको कारण

logo
हाम्रा कुरा
प्रकाशित २०८३ साउन १० आइतबार
rain-maitighar-83-4-1.jpg

काठमाडौँ । माइतीघर मण्डला क्षेत्रमा बर्खायाममा हुने डुबानको समस्यासम्बन्धी प्राविधिक अध्ययन प्रतिवेदन पेश भएको छ। महानगरपालिकाका कार्यवाहक प्रमुख सुनिता डंगोलको निर्देशनमा राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका उपसचिव रामबहादुर केसीको संयोजकत्वमा गठित विशेष अध्ययन समितिले उक्त प्रतिवेदन तयार पारेको हो।

साउन ५ गते भएको स्थलगत अनुगमनपछि तयार पारिएको प्रतिवेदनले माइतीघर क्षेत्र जलमग्न हुनुका पछाडि मुख्यतया इन्जिनियरिङ त्रुटि, जल प्रवाह क्षेत्रको अतिक्रमण र प्राकृतिक जलशोषक क्षेत्रको विनाश मुख्य कारण रहेको औँल्याएको छ।

प्रतिवेदन अनुसार माइतीघर मण्डला क्षेत्रको ढल निकास प्रणालीमा गम्भीर इन्जिनियरिङ त्रुटि देखिएको छ। माइतीघर क्षेत्रमा भित्रिने ढलको माथिल्लो भागमा ९० सेन्टिमिटरको ढल छ भने यो ढल प्रणाली तल्लो भागमा पुगेपछि ६० सेन्टिमिटरमा साँघुरिएको छ। यसरी माथिल्लो भागबाट आउने पानीको चापलाई तल्लो भागको साँघुरो ढलले धान्न नसक्दा ‘बोटलनेकिङ’ को समस्या भई पानी सडकमा बाहिरिने गरेको प्रतिवेदनमा उल्लेख छ। यसबाहेक, टुकुचा खोलाको सतह बढेको बेला ढलको पानी खोलामा जानुको साटो उल्टै बस्ती र सडकतर्फ फर्कने (ब्याक फ्लो) समस्याले गर्दा पनि माइतीघर जलमग्न हुने गरेको देखिएको छ।

भौतिक पूर्वाधारबाहेक वातावरणीय र सहरी विकास तथा व्यवस्थापनका कारणहरूलाई पनि प्रतिवेदनले डुबानको प्रमुख कडीका रूपमा औँल्याएको छ। विगतमा माइतीघर चोकसँगै जोडिएका खुला क्षेत्रहरूले ‘प्राकृतिक जलाधार’ को काम गर्थे, जसले वर्षाको पानीलाई जमिनमुनि सोस्ने गथ्र्यो। तर, अहिले ती क्षेत्रमा जिल्ला प्रहरी परिसर काठमाडौँ र जिल्ला सरकारी वकिलको कार्यालयलगायतका ठूला भवनहरू निर्माण भएपछि जमिन कंक्रिटले ढाकिएको छ र पानी सोसिने प्राकृतिक प्रक्रिया बन्द भएको छ। यसले गर्दा सतहमा बग्ने पानीको मात्रा अत्यधिक बढ्न गई माइतीघर चोकमा सिधै केन्द्रित हुने गरेको प्राविधिक टोलीको निष्कर्ष छ।

साथै, अतिक्रमणको समस्या पनि माइतीघर डुबानमा उत्तिकै जिम्मेवार देखिएको छ। अनुगमनका क्रममा कतिपय स्थानमा ढलमाथि नै व्यक्तिगत र सरकारी भवनका संरचनाहरू निर्माण भएका कारण नियमित सरसफाइमा अवरोध पुगेको पाइएको छ भने ढलको पाइपभित्र प्लास्टिकजन्य फोहोर, बोतल र ढुङ्गा–गिट्टी थुप्रिनुले पानीको बहावलाई थप रोकेको छ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ