नारायणी अस्पतालमा बिरामीको मृत्युको घटना छानबिन गर्न पाँच सदस्यीय समिति गठन
हाम्रा कुरा
प्रकाशित २०८३ साउन १० आइतबार
117
Shares
काठमाडौँ । नारायणी अस्पतालमा शनिबार उपचारका क्रममा एक बिरामीको मृत्यु भएपछि उत्पन्न परिस्थितमा छानबिन गर्न पाँच सदस्यीय समिति गठन गरिएको छ।
अस्पतालको आकस्मिक कक्षमा उपचाररत वीरगञ्ज महानगरपालिका–२५ का ४५ वर्षीय राजकुमार पटेलको मृत्यु भएपछि आफन्तले चिकित्सक र अस्पताल प्रशासनको लापरबाहीका कारण ज्यान गएको आरोप लगाउँदै प्रदर्शन गरेका थिए। अक्सिजनमा रहेका बिरामीलाई स्थानान्तरण गर्ने क्रममा अक्सिजन हटाइएका कारण मृत्यु भएको आफन्तको दाबी छ।
घटनाको सत्यतथ्य पत्ता लगाउन जिल्ला प्रहरी कार्यालय पर्साका प्रहरी निरीक्षकको संयोजकमा छानबिन समिति गठन गरिएको छ।
उक्त समितिका सदस्यहरूमा जिल्ला प्रशासन कार्यालय पर्साका प्रशासकीय अधिकृत विनयकुमार राम, नारायणी अस्पतालका डा. निरजकुमार सिंह, वीरगञ्ज महानगरपालिका–२५ का वडाध्यक्ष आशुतोष चतुर्वेदी, मृतक पक्षका प्रतिनिधि विकास पटेल र अस्पताल प्रशासनका प्रतिनिधि सुनिलकुमार रोनियार रहेका छन्।
अस्पतालले घटनाका बेला उपचारमा संलग्न पाँच जना स्वास्थ्यकर्मीलाई छानबिन प्रतिवेदन नआएसम्मका लागि जिम्मेवारीबाट हटाएको छ।
जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता तथा प्रहरी नायब उपरीक्षक किशोर लम्सालका अनुसार समितिले एक साताभित्र प्रतिवेदन बुझाउने र प्रतिवेदनका आधारमा दोषी देखिएका व्यक्तिमाथि आवश्यक कारबाही गरिनेछ।