धनगढी। सत्याग्रहमा रहेका डा. गोविन्द केसी र सरकारबीच आइतबारदेखि औपचारिक वार्ता शुरू भएको छ।
धनगढीस्थित सेती प्रादेशिक अस्पतालमा शुरू भएको वार्ताका लागि सरकारले प्रधानमन्त्रीका स्वास्थ्य सल्लाहकार जेपी अग्रवालको संयोजकत्वमा तीन सदस्यीय वार्ता टोली गठन गरेको छ।
डा. केसीका सहयोगी डा. अमृत जैशीका अनुसार सरकारको वार्ता टोलीसँग औपचारिक छलफल भइरहेको छ।
उनले डा. केसीले आफ्ना मागबाट पछि नहट्ने स्पष्ट अडान राखेकाले वार्ता पनि सोहीअनुसार अघि बढिरहेको बताए।
वार्तामा प्रतिनिधिसभा सदस्य पुकार बम पनि सहभागी रहेका छन्।
डा. केसी बिहीबारदेखि विभिन्न माग राख्दै सत्याग्रहमा बसेका छन्।
सरकार र डा. केसी पक्षबीचको वार्ताको निष्कर्ष भने आउन बाँकी छ।