काठमाडौँ । जल तथा मौसम विज्ञान विभागले चालु जुलाई महिनामा देशका विभिन्न भागमा औसतभन्दा कम वर्षा मापन भएको जनाएको छ। सामान्यतया यस अवधिमा औसत ५५८.८ मिलिमिटर वर्षा हुनुपर्नेमा हालसम्म ३०४.३० मिलिमिटर मात्र वर्षा भएको विभागले स्पष्ट पारेको छ।
विभागका अनुसार पछिल्लो २४ घण्टामा देशैभर फैलिएका ४१४ वटा वर्षा मापन केन्द्रमध्ये ३७२ वटा केन्द्रमा वर्षा रेकर्ड गरिएको छ। यस अवधिमा नेपालभर औसत ११.७ मिलिमिटर वर्षा मापन भएको छ भने सबैभन्दा बढी कपिलवस्तुको पथरकोटामा १६७.० मिलिमिटर वर्षा भएको छ। तापक्रमको कुरा गर्दा पछिल्लो २४ घण्टामा रामेछापको मन्थलीमा अधिकतम तापक्रम ३५.७ डिग्री सेल्सियस र मनाङको हुम्देमा न्यूनतम तापक्रम ९.६ डिग्री सेल्सियस मापन गरिएको छ।
मौसमविद् डेविट ढकालले हाल मनसुन सक्रिय नै रहेकाले देशका विभिन्न स्थानमा वर्षाको सम्भावना कायमै रहेको जानकारी दिनुभएको छ। विशेषगरी पहाडी तथा तराईका केही क्षेत्रमा मेघगर्जन र चट्याङसहित मध्यमदेखि भारी वर्षा हुन सक्ने भएकाले आवश्यक सतर्कता अपनाउन सर्वसाधारणमा अनुरोध गरिएको छ।