बजार घट्दा पनि प्रतिफल पाउन सकिने ‘सर्ट सेलिङ’ प्रणाली छिट्टै लागू गर्दैछौँ: सेबोन अध्यक्ष भट्ट
हाम्रा कुरा
प्रकाशित २०८३ असार ३१ बुधबार
264
Shares
काठमाडौँ । नेपाल धितोपत्र बोर्ड (सेबोन) का अध्यक्ष डा. गोपालप्रसाद भट्टले देशको पुँजी बजारमा छिट्टै ‘सर्ट सेलिङ’ प्रणाली लागू गर्न लागिएको जानकारी दिएका छन्। बुधबार सङ्घीय संसद्को अर्थ समितिको बैठकमा बोल्दै अध्यक्ष भट्टले सेयर बजार बढ्दा मात्र नभई घट्दा पनि लगानीकर्ताले प्रतिफल लिन सक्ने आधुनिक उपकरणका रूपमा यो व्यवस्था ल्याउन लागिएको स्पष्ट पारे।
नेपालमा सेयर बजार सधैँ बढिरहनुपर्छ भन्ने एकतर्फी र परम्परागत मान्यता रहेको उल्लेख गर्दै उनले संसारको कुनै पनि पूँजीबजार निरन्तर उकालो मात्र लाग्न नसक्ने स्पष्ट पारे। बजार घट्दा धितोपत्र बोर्डमाथि अनावश्यक दबाब दिने र आन्दोलन गर्ने गरिएको प्रति गुनासो गर्दै उनले बोर्डको भूमिका बजारको दिशा निर्धारण गर्ने नभई सबैका लागि निष्पक्ष र समान अवसर (प्लेइङ फिल्ड) सुनिश्चित गर्नु मात्र भएको बताए।
के हो ‘सर्ट सेलिङ’ र यसले कसरी काम गर्छ?
अध्यक्ष भट्टका अनुसार ‘सर्ट सेलिङ’ प्रणाली लागू भएपछि बजार घट्ने अनुमान गर्ने लगानीकर्ताले बजारबाट सेयर सापटी लिएर तत्कालको मूल्यमा बिक्री गर्न सक्नेछन्। पछि बजार घटेर सेयरको मूल्य न्यून बिन्दुमा पुगेपछि सोही परिमाणको सेयर किनेर फिर्ता गर्दा आउने मूल्य अन्तरबाट लगानीकर्ताले नाफा कमाउन सक्नेछन्।
उदाहरण दिँदै उनले भने, “यदि कुनै लगानीकर्ताले बजार घट्ने विश्लेषण गरेर हाल ५० रुपैयाँ पर्ने सेयर सापटी लिएर बेच्यो र पछि त्यसको मूल्य ३० रुपैयाँ हुँदा किनेर फिर्ता गर्यो भने उसलाई प्रतिसेयर २० रुपैयाँ फाइदा हुन्छ।” बजार बढ्ने अपेक्षा गर्नेहरूले भने अहिलेकै जस्तो सस्तोमा किनेर महँगोमा बेची नाफा कमाउन सक्नेछन्। यो व्यवस्थाले लगानीकर्ताहरू दुई फरक रणनीतिक समूहमा बाँडिने र बजार घट्नै नहुने एकतर्फी मनोविज्ञान तथा आन्दोलन गर्ने संस्कृतिको अन्त्य हुने दाबी उनले गरे।
बैठकमा अध्यक्ष भट्टले बजारमा फैलिने नकारात्मक र भ्रामक अफवाहहरूलाई नियन्त्रण गर्न बोर्डले आवश्यक नीतिगत व्यवस्था ल्याउन लागेको समेत जानकारी दिए। हाल सम्पत्ति छानबिन लगायतका विभिन्न सरकारी कारबाहीका कारण लगानीकर्ताको मनोबल खस्किएको भन्ने गुनासो आएको तर्फ इङ्गित गर्दै उनले सम्पत्ति छानबिन, निरीक्षण तथा वित्तीय अपराध नियन्त्रणका विषयमा धितोपत्र बोर्डले सम्बन्धित सरकारी निकायहरूसँग आवश्यक समन्वय गरेर मात्र काम गर्ने स्पष्ट पारे।
नेपालको पुँजी बजारलाई अन्तर्राष्ट्रिय स्तरको बनाउन बोर्डले हालै मात्र ‘नेपालको पुँजी बजार विकास मार्गचित्र, २०८३’ सार्वजनिक गरिसकेको स्मरण गराउँदै अध्यक्ष भट्टले आगामी आर्थिक वर्षको कार्यसम्पादनलाई व्यवस्थित बनाउन आर्थिक वर्ष २०८३/०८४ को पुँजी बजार नीति समेत सार्वजनिक गरिएको समितिलाई जानकारी दिए।