arrow

कठै दशरथ रंगशाला ! [तस्बिरहरू]

logo
हाम्रा कुरा
प्रकाशित २०८३ असार ३१ बुधबार
plight-of-dasharath-stadium (5).jpg
तस्बिर – नेपाल फोटो लाइब्रेरी ।

काठमाडौँ । विश्व यतिबेला विश्वकप फुटबलको माहोलले तातेको छ । रात बिरात उठेरै भए पनि फुटबल हेर्नेहरू थुप्रै छन् । चार वर्षमा टिमहरूले आफूलाई कत्तिको सक्षम राखे भनेर हेर्ने र मनोरञ्जन लिनेले लिने तथा खेलाडी एवं प्रशिक्षकले त्यसलाई अनुकरण गरेकासमेत हुन्छन् । 

त्यसैले त रातभर गोल हुँदा चिच्याउने र सहरदेखि गाउँसम्मका मैदान, फुटसल र चोक चोकमा फुटबलप्रेमीहरू दिन भएपछि त्यही फुटबलकै चर्चा र खेलमा व्यस्त देखिन्छन् । 

नेपालको अन्तर्राष्ट्रिय स्तरको प्रमुख फुटबल मैदान दशरथ रंगशाला भने उचित व्यवस्थापन र नियमित मर्मत सम्भारको अभावमा दयनीय अवस्थामा पुगेको छ । दशरथ रंगशालाको मैदान लामो घाँसले भरिएको छ भने दर्शक बस्ने कुर्सी र गोल पोस्टहरूमा खिया लाग्न थालेको छ। 

नियमित सरसफाइ, संरक्षण र मर्मत–सम्भार नहुँदा नेपाली खेलकुदको धरोहर मानिने यो रंगशाला जीर्ण बन्दै गएको देखिन्छ । गत असार ११ गते अखिल नेपाल फुटबल संघ (एन्फा) फिफाबाट निलम्बनमा परेपछि तय भएका अन्तर्राष्ट्रिय प्रतियोगिताहरू हालका लागि स्थगित भएका छन् । 

रंगशालाको दैनिक व्यवस्थापन, संरक्षण र मर्मत सम्भारको जिम्मेवारी  पाएको राष्ट्रिय खेलकुद परिषद् (राखेप) समेत गैरजिम्मेवार भएपछि रंगशालाको हालत बिचरा बनेको हो । 

बर्खामा प्रतियोगिता नहुँदैमा मैदानलाई बेवास्ता गर्न नहुने थियो । माल पाएर चाल नपाउने राखेपले यसको उचित संरक्षण नगर्दा नेपालमा फुटबलको साखसमेत गिर्न थालेको छ । 

यही रंगशाला ठीक नहुँदा नेपालले यसअघि थुप्रै अन्तर्राष्ट्रिय फुटबल खेल विदेशी मैदानलाई होम ग्राउन्ड बनाएर खेल्न परेको छ । 

दशरथ रंगशालामा पछिल्लोपटक सन् २०२५ फेब्रुअरी २६ मा सम्पन्न चार राष्ट्र सहभागी अन्तर्राष्ट्रिय महिला फुटबल प्रतियोगिता आयोजना भएको थियो । त्यसयता यहाँ कुनै अन्तर्राष्ट्रिय फुटबल प्रतियोगिता हुन सकेको छैन ।

विश्वभर फुटबलप्रति उत्साह बढिरहेका बेला नेपालको  प्रमुख अन्तर्राष्ट्रिय रंगशालाको यस्तो अवस्था चिन्ताजनक बनेको छ। 

अन्तर्राष्ट्रिय प्रतियोगिता नहुँदा पनि रंगशालाको नियमित मर्मत, घाँस व्यवस्थापन, सरसफाइ र पूर्वाधार संरक्षणमा सम्बन्धित निकायले विशेष ध्यान दिनुपर्ने आवश्यकता देखिएको छ।

खेलकुद परिषदमा फुटबलकर्मी नै पदाधिकारी हुँदासमेत मैदानको यो हृदयविदारक दृष्य देख्नुपर्दा अब फुटबल कहिल्यै उँभो नलाग्ने चिन्ता फुटबलसँग आबद्ध व्यक्तिहरूको चित्तदुखाइ छ । 

सरकारले मंगलबार मात्रै पदक जित्ने खेलाडीलाई सम्मान गर्ने र दिन बाँकी रकम सबै दिने निर्णय पनि गरेको छ । तर त्यही रंगशाला जसले हरेक खेलको प्रतिनिधित्व गर्न सक्छ, त्यसकै यो विजोग हुँदा भौतिक पूर्वाधारमा सरकारको प्राथमिकता के हो भन्नेसमेत छर्लङ्ग हुँदै गएको छ । 

एन्फासमेत गैरजिम्मेवार बन्दा रंगशालाको हालत यस्तो भएको हो । यही स्थितिमा अगाडि बढ्ने हो भने फुटबल त खेलिने छैन अब त म्युजिक कन्सर्टका लागि पनि यो स्थान रोजाइमा पर्ने छैन । 

plight-of-dasharath-stadium (2).jpg
plight-of-dasharath-stadium (3).jpg
plight-of-dasharath-stadium (4).jpg
plight-of-dasharath-stadium (5).jpg
plight-of-dasharath-stadium (6).jpg
plight-of-dasharath-stadium (7).jpg
plight-of-dasharath-stadium (8).jpg
plight-of-dasharath-stadium (9).jpg
plight-of-dasharath-stadium (10).jpg
plight-of-dasharath-stadium (11).jpg
plight-of-dasharath-stadium (12).jpg
plight-of-dasharath-stadium (13).jpg
plight-of-dasharath-stadium (1).jpg


लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ