प्रधानमन्त्री र सभापति लामिछानेले संसद्को नियम उल्लंघन गरेको भन्दै एमालेको आपत्ति
हाम्रा कुरा
प्रकाशित २०८३ असार ३० मंगलबार
380
Shares
काठमाडौँ। नेकपा (एमाले)ले प्रधानमन्त्री वालेन्द्र साह (बालेन) र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले प्रतिनिधिसभा बैठकको क्रममा संसद्को नियम उल्लंघन गरेको आरोप लगाउँदै सभामुखको रुलिङ माग गरेको छ।
मंगलबार बसेको प्रतिनिधिसभा बैठकमा नियमापत्तिको समय बोल्दै एमाले सांसद ऐनबहादुर महरले प्रधानमन्त्री साह र रास्वपा सभापति लामिछानेले प्रतिनिधिसभा नियमावलीको व्यवस्था विपरीत आचरण गरेको दाबी गरे।
उनले प्रतिनिधिसभा नियमावलीको नियम २० को खण्ड (छ) अनुसार सभामुखको आशन र बोलिरहेका सदस्यको बीचबाट हिँड्न नपाइने व्यवस्था रहेको स्मरण गराए।
महरका अनुसार राप्रपाकी सांसद खुश्बु ओलीले आफ्नो धारणा राखिरहेका बेला प्रधानमन्त्री साह र रास्वपा सभापति लामिछाने सभामुखको आशन अगाडिको भाग हुँदै हिँडेका थिए।
‘माननीय खुश्बू ओली बोलिरहनुभएको अवस्थामा सम्माननीय प्रधानमन्त्रीज्यू र सत्तापक्षका सभापतिज्यूले नियम उल्लंघन गरेर हिँड्नुभएको छ। यस विषयमा नियमापत्ति गर्दै सभामुखको ध्यानाकर्षण गराउन चाहन्छु र यसबारे रुलिङको माग गर्दछु,’ महरले भने।
उनले संसद्को नियम र मर्यादा सबै सांसदका लागि समान रूपमा लागू हुने भएकाले घटनाबारे सभामुखले आवश्यक निर्देशन दिनुपर्ने माग गरे।