अरनिको, मेची र मदन भण्डारीसहित मुख्य राजमार्गहरू ठप्प : ५६ स्थानमा 'अलर्ट'
हाम्रा कुरा
प्रकाशित २०८३ असार २९ सोमबार
231
Shares
काठमाडौँ । देशका विभिन्न भागमा भइरहेको अविरल वर्षा र पहिरोका कारण मुलुकका मुख्य राजमार्गहरू ठप्प भएका छन्। बाढी र पहिरोले सडक बगाउने र बाटो थुनिने क्रम बढेपछि सयौँ यात्रु तथा मालवाहक सवारीसाधनहरू बीच बाटोमै अलपत्र परेका छन्। गृह मन्त्रालयको विपद् पोर्टलका अनुसार पछिल्लो एक हप्ता (असार २२ देखि २९ गते) भित्र मात्रै देशका ५६ स्थानमा बाढी, भारी वर्षा र सडक अवरोधका कारण उच्च सतर्कता अपनाउन चेतावनी जारी गरिएको छ।
सडक विभाग र प्रहरीले दिएको पछिल्लो जानकारी अनुसार बाढी र पहिरोका कारण कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका धेरैजसो मुख्य सडक सञ्जाल विच्छेद भएका छन्। असार २९ गते आज बिहान साढे ६ बजेसम्मको तथ्याङ्कअनुसार अरनिको राजमार्गदेखि मदन भण्डारी राजमार्गसम्मका मुख्य खण्डहरू पूर्ण रूपमा बन्द रहेका छन्।
विशेष गरी बागमती र लुम्बिनी प्रदेशमा सडक अवरोध धेरै देखिएको छ। विपद् व्यवस्थापन शाखाका अनुसार बागमती प्रदेशको सिन्धुपाल्चोक, भोटेकोशी गाउँपालिका–२ कोदारीमा आज बिहान गएको पहिरोका कारण अरनिको राजमार्ग पूर्ण रूपमा बन्द भएको छ। यस्तै, कान्ति लोकपथ अन्तर्गत मकवानपुरको भीमफेदी गाउँपालिका–८ भ्यारडेडाँडामा असार २७ गतेदेखि नै पहिरो जाँदा ललितपुर–हेटौँडा जोड्ने छोटो दूरीको बाटो पूर्ण रूपमा अवरुद्ध छ।
काभ्रेको बीपी राजमार्ग अन्तर्गत खुर्कोट–नेपालथोक–कटुञ्जेबेंसी खण्डमा भोटेकोशी र सुनकोशी नदीमा सम्भावित बाढीको जोखिमलाई ध्यानमा राखेर सुरक्षाका लागि सम्पूर्ण सवारी साधन सञ्चालनमा रोक लगाइएको प्रहरीले जनाएको छ।
लुम्बिनी प्रदेशमा पनि सडकको अवस्था उस्तै नाजुक छ। गुल्मीको छत्रकोट गाउँपालिका–३ काउलेमा आज असार २९ गते पहिरो जाँदा मदन भण्डारी राजमार्ग पूर्ण रूपमा अवरुद्ध भएको छ। यसअघि असार २८ गते रोल्पाको परिवर्तन गाउँपालिका–१ खोलाबाङमा पहिरो जाँदा घोराही–रुकुम सहिद मार्ग र अर्घाखाँचीको पाणिनी गाउँपालिका–२ ढुङ्ग्रेखोलामा पहिरो जाँदा सालझण्डी–ढोरपाटन सडक खण्ड पूर्ण रूपमा बन्द भएको लुम्बिनी प्रदेश प्रहरी कार्यालयले जनाएको छ। पाल्पाको तिनाउ गाउँपालिका–३ हेडबक्स नजिक सिद्धार्थ राजमार्ग भने हाल एकतर्फी रूपमा मात्र सञ्चालनमा रहेको छ।
कोशी र गण्डकी प्रदेशमा पनि बाढी पहिरोको सास्ती उस्तै छ। कोशी प्रदेशको इलाम नगरपालिका–९ राजदुवालीमा असार २३ गतेदेखि परेको अविरल वर्षाका कारण मेची राजमार्गको मुख्य खण्ड पूर्ण रूपमा अवरुद्ध भएको छ, यद्यपि त्यहाँ वैकल्पिक ग्रामीण बाटो प्रयोग गरेर साना सवारी साधन चलाउने प्रयास गरिएको छ। यस्तै, पुष्पलाल (मध्यपहाडी) लोकमार्ग अन्तर्गत भोजपुर नगरपालिका–५ बोखिममा असार १२ गते गएको बाढी र पहिरोका कारण बाटो अझै पनि एकतर्फी मात्र खुला गरिएको छ।
उता गण्डकी प्रदेशको कास्की, मादी गाउँपालिका–२ ज्याम्दुमा असार २७ गते गएको पहिरोका कारण पोखरा–ताङतिङ सडक खण्ड अहिलेसम्म पूर्ण रूपमा बन्द रहेको स्थानीय प्रशासनले जनाएको छ।
गृह मन्त्रालयको रियलटाइम मोडुलका अनुसार देशका विभिन्न ५६ स्थानमा सतर्कता चेतावनी जारी गरिएको छ। पछिल्लो २४ घण्टामा मात्रै सुदूरपश्चिमको कैलालीदेखि पूर्वको सुनसरीसम्म बाढी र सडक अवरोधका नयाँ घटनाहरू दर्ता भएका छन्। आज बिहान ३:५० बजे कैलालीको कैलारी गाउँपालिका–५ मा बाढी पसेको छ भने असार २८ गते राति सुनसरीको इटहरी उपमहानगरपालिका–२ मा भारी वर्षा भई बस्तीहरू जोखिममा परेका छन्।
रूपन्देहीको सैनामैना–१० मा असार २८ गते साँझदेखि सडक खण्ड बन्द छ। पर्वतको जलजला गाउँपालिका–३ मा पनि असार २८ गते दिउँसो र राति गरी दुई पटक बाढी आएपछि नदी तटीय क्षेत्रमा उच्च सतर्कता अपनाउन भनिएको छ भने हिमाली जिल्ला मुगुको छायाँनाथ रारा नगरपालिका–६ मा पनि असार २८ गते बिहानदेखि सडक अवरुद्ध छ।
प्रहरी तथा स्थानीय प्रशासनले अत्यावश्यक कामबाहेक पहिरो जाने भीर र नदी तटीय क्षेत्रमा यात्रा नगर्न सर्वसाधारणलाई विशेष अपिल गरेका छन्। अवरुद्ध सडकहरू खुलाउन प्राविधिक र डोजरहरू परिचालन गरिएको भए पनि लगातारको वर्षा र लेदोसहितको पहिरो खसिरहेकाले काममा अवरोध पुगिरहेको सडक विभागका अधिकारीहरूले बताएका छन्।