सरकारलाई ‘श्री ३’ को संज्ञा दिँदै माइतीघरमा प्रदर्शन [भिडियो]
हाम्रा कुरा
प्रकाशित २०८३ असार २७ शनिबार
339
Shares
काठमाडौँ । मुगुका २५ वर्षीय युवा गणेश नेपालीले आत्मदाह गरेको घटनालाई लिएर राजधानीको माइतीघर मण्डलामा सरकारविरुद्ध तीव्र विरोध प्रदर्शन गरिएको छ। राज्यकै नीतिका कारण ती युवा आत्मदाह गर्ने परिस्थितिमा पुगेको भन्दै जनपक्षीय ट्रेड युनियन महासंघको अगुवाइमा शनिबार प्रदर्शन गरिएको हो।
आन्दोलनमा सहभागीहरूले वर्तमान सत्ता साझेदार प्रमुख दल र तिनका नेताहरूलाई ‘श्री ३’ को संज्ञा दिँदै कडा नाराबाजी गरेका थिए। प्रदर्शनकारीहरूले "युवालाई आत्मदाह गर्ने स्थितिमा कसले पुर्यायो?", "युवाहरूलाई आत्मदाह गर्ने बाध्यता होइन, रोजगार देऊ!", र "बालेन, रवि, स्वर्णिम बराबर ओली, देउवा, प्रचण्ड" जस्ता प्लेकार्ड र ब्यानरहरू प्रदर्शन गरेका थिए।
प्रदर्शनका क्रममा आक्रोशित आन्दोलनकारीहरूले "गणेश नेपालीको हत्यारा सरकार– मुर्दावाद" र "श्री ३ बालेन, रवि, स्वर्णिम सरकार" लेखिएका नारासहित प्लेकार्ड बोकेर सरकारको कार्यशैलीको विरोध गरे। उनीहरूले राज्य नागरिकका समस्याप्रति उदासीन बनेकै कारण युवाहरू आफ्नै शरीरमा आगो झोस्ने आत्मघाती निर्णयमा पुग्न बाध्य भएको भन्दै तत्काल गरिब र श्रमजीवी वर्गको हितमा काम गर्न सरकारसँग माग गरेका छन्।