गणेश नेपालीको मृत्युले सरकारको असफलता उजागर गर्यो [भिडियो]
हाम्रा कुरा
प्रकाशित २०८३ असार २६ शुक्रबार
220
Shares
काठमाडौँ। प्रतिपक्ष दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का नेता तथा पूर्वअर्थमन्त्री वर्षमान पुनले गणेश नेपालीको मृत्यु प्रकरणलाई राज्यको चरम असफलताको प्रतीक भएको भन्दै वर्तमान सरकारमाथि कडा आलोचना गरेका छन्।
शुक्रबार प्रतिनिधि सभा बैठकमा बोल्दै उनले गणेश नेपालीको मृत्युले आफू स्तब्ध भएको बताउँदै दिवंगतप्रति श्रद्धाञ्जली व्यक्त गरे। उनले यो घटनाले वर्तमान सरकार चरम असफलतातर्फ उन्मुख भएको स्पष्ट संकेत दिएको जिकिर गरे।
पुनले संसद् भवनअगाडि प्रेम आचार्यले गरेको आत्मदाहको घटना स्मरण गर्दै तत्कालीन समयमा वर्तमान प्रधानमन्त्री बालेन्द्र साहले सामाजिक सञ्जालमा लेखेको टिप्पणी उद्धृत गरे।
उनले त्यतिबेला प्रधानमन्त्री साहले आत्मदाहको घटनालाई ‘राज्यको चरम असफलता’ भनेको स्मरण गराउँदै अहिले गणेश नेपालीको मृत्युबारे पनि सरकारले स्पष्ट जवाफ दिनुपर्ने माग गरे।
उनले प्रश्न गरे, “के यो पनि राज्यको असफलता होइन? गरिब, दुःखी, विपन्न र सुकुम्बासीहरू यो देशमा बाँच्न नपाउने हो? गरिखान नपाउने हो? प्रधानमन्त्रीको त्यो दृष्टिकोण अझै कायम छ कि सत्ता सम्हालेपछि बदलिएको हो?”
पुनले सरकारले गरिब नागरिकलाई सम्मानपूर्वक बाँच्ने र श्रम गरेर जीविकोपार्जन गर्ने वातावरणसमेत बनाउन नसकेको आरोप लगाए। उनले गणेश नेपालीको मृत्युको घटनालाई गम्भीर रूपमा लिएर सरकार जिम्मेवार बन्नुपर्ने र संसद्लाई स्पष्ट जवाफ दिनुपर्ने माग गरे।