जेन-जी आन्दोलनपछिको पुनःनिर्माणमा ५१ लाख दिएका दिव्यमणी राजभण्डारीलाई सरकारको सम्मान
हाम्रा कुरा
प्रकाशित २०८३ असार २६ शुक्रबार
234
Shares
काठमाडौँ । नेपाली कांग्रेसका पूर्व सांसद एवं सामाजिक व्यक्तित्व दिव्यमणी राजभण्डारीलाई बालेन सरकारले सम्मान गरेको छ । जेन-जी आन्दोलनपछिको राष्ट्र पुनःनिर्माणका लागि ५१ लाख रुपैयाँ सहयोग गरेका राजभण्डारीलाई सरकारले सम्मान पत्र दिँदै सम्मान गरेको हो ।
राजभण्डारीले सामाजिक सञ्जालमा सो जानकारी दिएका हुन् । गत असोज ९ गते उनले तत्कालीन प्रधानमन्त्री सुशीला कार्कीलाई सरकारको कोषमा बैंक ट्रान्सफर मार्फत ५१ लाख रुपैयाँ जम्मा गरेको कागजात बुझाएका थिए ।
सहयोग गरेको नौ महिनापछि उनले सरकारबाट अर्थमन्त्री स्वर्णिम वाग्लेबाट सम्मान पत्र प्राप्त गरेका हुन् ।
उनले सामाजिक सञ्जालमा लेखेका छन् - 'एक भूमिपुत्रका कर्तब्य अनुसार २५ सेप्टेम्बर २०२५ मा पुन:सरचना निर्माणका लागि ब्यक्तिगत रुपमा सहयोग रकम बुझाएका, सम्मानीय प्रधानमन्त्रीलाई जानकारी गराएका र ७ जुलाई २०२६ मा माननीय अर्थमन्त्रीबाट धन्यवाद ज्ञापन पत्र प्राप्तिका तस्बिरहरू- (जेन-जी आन्दोलनपछि राजनीतिक दलमा शीर्ष पदमा पुग्नु भएका नेताहरू र सत्तामा रहनु भएका केही नेताहरू र मन्त्रीहरुले चिन्न नचाहेका मान्छे)'
यसअघि गत असोज ९ गते उनले लेखेका थिए, 'भगवानको कृपा, गुरुदेव र अग्रजहरुका आशीर्वाद अनुसार दिव्य वचन पूरा गरियो । नेपाल सरकारका कोषमा बैंक ट्रान्सफर मार्फत रु एक्काउन्न लाख रकम जम्मा गरेको डकुमेन्ट सम्माननीय प्रधानमन्त्रीज्यूलाई बुझाइयो । वीर शहीदहरूमा पुनः श्रद्धाञ्जली अर्पण गर्दै यस्ता रकमहरूका सदुपयोग गरी दिवंगत शहीदहरूका आत्मालाई चिरशान्ति मिल्ने कार्य गर्न र कार्यहरू उहाँहरुका सम्झनामा नामाङ्कन गर्न अनुरोध गरियो । पुण्य कार्यमा सहभागी हुन अनुरोध छ ।'
उनले सहयोगका लागि मनकारीहरूलाई आग्रहसमेत गरेका थिए । उनले गत असोज १ गते सामाजिक सञ्जालबाटै ५१ लाख रुपैयाँ सहयोग गर्ने घोषणा गरेका थिए ।
सांसद भएपछि व्यापारबाट संन्यास लिएका राजभण्डारीले यसअघि पनि कोभिडको समयमा र भूकम्पको राष्ट्रिय विपत्तिको बेलामा समेत राष्ट्रिय कोषमा योगदान दिएका थिए ।
यो आन्दोलनबाट भएको क्षति पछिको पुनःनिर्माणमा समेत उनले यो सहयोगको घोषणा गरेर अरुलाई पनि राष्ट्रिय कोषमा योगदान गर्न प्रेरित गरेका थिए ।