arrow

यसै महिनाभित्र रोजगारी र इन्टर्नसिपको स्पष्ट योजना पेस गर्न मन्त्री चौधरीको निर्देशन

logo
हाम्रा कुरा
प्रकाशित २०८३ असार २६ शुक्रबार
krisi-mantri-gita.jpg

काठमाडौँ । कृषि, वन तथा पर्यावरण मन्त्री गीता चौधरीले मन्त्रालय अन्तर्गतका सबै विभाग तथा निकायलाई युवा पुस्ताले प्रत्यक्ष अनुभूति गर्ने गरी परिणाममुखी काम गर्न कडा निर्देशन दिएकी छन्। 

मन्त्रालयमा नेपाल कृषि अनुसन्धान परिषद् (नार्क), दुग्ध विकास संस्थान, जडीबुटी उत्पादन तथा प्रशोधन कम्पनी लिमिटेड, जल तथा मौसम विज्ञान विभाग लगायतका विभागीय प्रमुखहरूसँग भएको छलफलमा मन्त्री चौधरीले यस्तो निर्देशन दिएकी हुन्। 

वर्तमान सरकारप्रति विशेष गरी युवा पुस्ताको ठुलो भरोसा र अपेक्षा रहेको उल्लेख गर्दै उनले अब परम्परागत शैलीले नभई युवा केन्द्रित भएर काम गर्नुपर्नेमा जोड दिइन्।

मन्त्री चौधरीले मन्त्रालय मातहतका सबै निकायलाई यसै महिनाभित्र आफ्नो क्षेत्रबाट कति युवालाई रोजगारी, पारिश्रमिक सहितको इन्टर्नसिप तथा स्वयंसेवा कार्यक्रममा सहभागी गराउन सकिन्छ भन्ने यथार्थ विवरण र स्पष्ट योजना तयार गरी मन्त्रालयमा पेस गर्न आदेश दिएकी छन्। 

युवा पुस्ताको अपेक्षा अनुसार परिणाम देखिने गरी काम गर्नुपर्ने भन्दै उनले कृषि, वन तथा पर्यावरण क्षेत्रलाई युवाका लागि आकर्षक रोजगारीको हबका रूपमा विकास गर्नुपर्ने धारणा राखिन्। 

विशेष गरी नयाँ स्नातक तह उत्तीर्ण गरेका र वैदेशिक रोजगारीबाट स्वदेश फर्किएका युवाहरूलाई प्राथमिकतामा राखेर विशेष कार्यक्रमहरू सञ्चालन गर्न उनले विभागीय प्रमुखहरूलाई सचेत गराइन्।

छलफलका क्रममा विभिन्न विभाग तथा संस्थानका प्रमुखहरूले देशभर रहेका आफ्ना मातहतका कार्यालयहरू मार्फत हाल पनि पारिश्रमिकसहित तथा पारिश्रमिक बिनाका विभिन्न इन्टर्नसिप र स्वयंसेवा कार्यक्रमहरू सञ्चालन भइरहेको जानकारी गराएका थिए। 

मन्त्री चौधरीले ती कार्यक्रमहरूलाई अझ परिमार्जित र सुदृढ बनाउँदै युवाहरूलाई उत्पादन र स्वरोजगारसँग जोड्ने गरी तत्काल नयाँ कार्ययोजना ल्याउन निर्देशन दिएकी छन्।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ