वीपी राजमार्ग अब अवरुद्ध भए आधा घण्टामै खुल्ने, पुनर्निर्मित ट्रयाकबाटै सवारी चलाइने
हाम्रा कुरा
प्रकाशित २०८३ असार २६ शुक्रबार
285
Shares
काठमाडौँ । पटक-पटकको बाढीपहिरोले क्षतिग्रस्त भई द्रुत गतिमा पुनर्निर्माण भइरहेको वीपी राजमार्गको काभ्रेपलाञ्चोक–सिन्धुली खण्डमा अब सडक अवरुद्ध भए आधा घण्टाभित्रै खुलाउने गरी तयारी गरिएको छ। डिभिजन सडक कार्यालय भक्तपुरका अनुसार पुनर्निर्माणको काम अन्तिम चरणमा पुगेकाले अबको केही दिनभित्रै नयाँ पुनर्निर्मित ट्रयाकबाटै सवारी साधन पूर्ण रूपमा सञ्चालन गरिनेछ। नेपालको पूर्वी तथा मध्यपहाडी क्षेत्रलाई सङ्घीय राजधानी काठमाडौँसँग जोड्ने यो सबैभन्दा छोटो र महत्त्वपूर्ण राजमार्गमा यसअघि सामान्य वर्षा हुनेबित्तिकै रोशी खोलाको बाढीले डाइभर्सन बगाउने र सडक अवरुद्ध हुने समस्या थियो।
डिभिजन सडक कार्यालयका प्रमुख सिनियर डिभिजनल इन्जिनियर सुमन योगेशले वर्षायाम सुरु भइसकेकाले विशेष सतर्कता अपनाइएको बताए। उनका अनुसार वर्षायामलाई मध्यनजर गर्दै केही दिनमै खण्डखण्डमा पुनर्निर्मित ट्रयाकबाटै पूर्ण रूपमा सवारी आवागमन हुनेछ। विपद्का कारण सडक अवरुद्ध भइहालेमा पनि आधा घण्टामै खुलाउने गरी आवश्यक हेभी उपकरणहरू तम्तयारी अवस्थामा राखिएको छ। अहिले खोलामा बनाइएका अस्थायी डाइभर्सनको साटो अधिकांश खण्डमा साविककै स्थानमा पुरानो ट्रयाक पुनर्निर्माण गरी गाडी चलाउन थालिएको छ। हाल चौकीडाँडादेखि कटुञ्जेबेँसी, लाष्कोट, चारसयबेँसी, नार्के, चिउरीबास, बोक्सीकुना हुँदै पिप्लेसम्म पुरानै ट्रयाक तयार भइसकेको छ।
कार्यालयले वर्षायाममा क्षति पुग्न सक्ने चौकीडाँडा, चारसयबेँसी, घुमाउनेबेँसी, बोक्सीकुना, चिउरीबास, कालढुङ्गा तथा पिप्ले–बर्खेखोला क्षेत्रलाई उच्च जोखिमयुक्त स्थानका रूपमा पहिचान गरेको छ। यी क्षेत्रमा पहिरो रोक्न ग्राभेल गर्ने तथा खोलाको कटान रोक्न ठुला-ठुला ढुङ्गा राखेर सडक सुरक्षित बनाउने काम भइरहेको छ। वि.सं. २०८१ असोजको विनाशकारी बाढीपहिरोले यस राजमार्गको भकुन्डेबेँसीदेखि नेपालथोकसम्मको करिब ३० किलोमिटर सडक पूर्ण रूपमा ध्वस्त पारेको थियो, जसले गर्दा रोशी खोलाको अस्थायी डाइभर्सन पटक-पटक बगाउने गरेको थियो।
राजमार्ग पुनर्निर्माणका लागि काभ्रेपलाञ्चोकतर्फ तीन र सिन्धुलीतर्फ एक गरी चार प्याकेजमा ठेक्का सम्झौता गरेर काम भइरहेको छ। क्षतिग्रस्त कुल २९.५ किलोमिटर सडकमध्ये सबैभन्दा बढी प्रभावित बर्खेखोलादेखि पिप्लेसम्मको ३.२ किलोमिटर खण्ड जापान अन्तर्राष्ट्रिय सहयोग नियोग (जाइका) ले निर्माण गरिरहेको छ। जाइकाले यस खण्डमा माटो भर्ने र ठुला ढुङ्गा रखने काम गरिरहेको छ, जसका लागि रु २ अर्ब ६३ करोड बराबरको अनुदान सहयोग उपलब्ध गराउने समझदारी भएको हो।
पुनर्निर्माण भइरहेको सडकखण्ड अब दुई लेनको हुनेछ र हाल सञ्चालनमा रहेका साँघुरा पुलहरूसँगै अर्को नयाँ पुल थपेर पाँचवटा पुललाई दुई लेनमा परिणत गर्ने योजना रहेको इन्जिनियर योगेशले जानकारी दिए। जापान सरकारकै अनुदान सहयोगमा आर्थिक वर्ष २०५३/५४ देखि कुल १६० किलोमिटर लामो वीपी राजमार्गको निर्माण सुरु गरिएको थियो।