गणेश नेपालीको आत्मदाह राज्यको चरम असफलताको संकेत : वर्षमान पुन
रोल्पा दुर्घटना र कम्बोडियामा रहेका नेपालीबारे पुनको संसदमा ध्यानाकर्षण
हाम्रा कुरा
प्रकाशित २०८३ असार २६ शुक्रबार
279
Shares
काठमाडौँ । नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का सांसद वर्षमान पुनले मुगुका २५ वर्षीय गणेश नेपालीको आत्मदाह र मृत्युको घटनाले राज्यको वर्तमान अवस्था र भूमिकामाथि गम्भीर प्रश्न उठाएको बताएका छन्। शुक्रबार प्रतिनिधि सभाको आकस्मिक समयमा बोल्दै नेता पुनले प्रधानमन्त्री बालेन्द्र साहको विगतकै एक सामाजिक सञ्जालको स्टाटस स्मरण गराउँदै सरकारसँग यसको सिधा जवाफ माग गरेका हुन्।
मृतक गणेश नेपालीप्रति श्रद्धाञ्जली व्यक्त गर्दै नेता पुनले यो घटनाले आफू स्तब्ध भएको बताए। उनले सामाजिक सञ्जालमा अहिले भाइरल भइरहेको प्रधानमन्त्रीको २०७९ साल माघ १२ गतेको स्टाटस संसदमा उद्धृत गरे, जसमा लेखिएको थियो— “एकजना नागरिक संसद भवनको अगाडि आफूमाथि पेट्रोल खन्याएर आत्मदाह गर्छन्... त्यो आत्मदाहका धेरै कारण र संकेत होलान्, तर सबैभन्दा ठूलो कारण राज्य हो र सबैभन्दा भयानक संकेत राज्यको चरम असफलताको हो।”
पुनले प्रधानमन्त्री नयाँ आशा र विश्वासको जनमतसहित सत्तामा आएको उल्लेख गर्दै अहिलेको घटना पनि राज्यकै असफलता हो कि होइन भनी प्रश्न गरे। उनले थपे, "यो के राज्यको असफलता हो? या गरिब, दुःखी, विपन्न र सुकुम्बासीहरू राजधानी वा देशभरि बाँच्न पाउँदैनन्, गरी खान पाउँदैनन् भन्ने संकेत हो? सत्तामा पुगेपछि प्रधानमन्त्रीज्यूको दृष्टिकोण परिवर्तन भएको हो कि, उहाँले जवाफ दिनुपर्छ।"
आफ्नो सम्बोधनका क्रममा नेता पुनले गृहजिल्ला रोल्पामा लगातार बढिरहेको सडक दुर्घटनाप्रति पनि सरकारको गम्भीर ध्यानाकर्षण गराए। गत २४ गते रोल्पामा भएको सडक दुर्घटनामा १९ जना घाइते भएको र तीमध्ये चार जनाको अवस्था गम्भीर रहेको जानकारी दिँदै उनले रोल्पामा गत वर्ष १७ जना र यस वर्ष मात्रै ३८ जनाको सडक दुर्घटनामा ज्यान गइसकेको तथ्याङ्क प्रस्तुत गरे।
उनले यस्ता दुर्घटनाहरू सवारी साधनको जीर्ण अवस्था, सडकको कमजोर गुणस्तर, चालकको लापरबाही, ओभरलोड, मौसमी प्रतिकूलता वा प्रशासनिक कमजोरी कुन कारणले भइरहेका हुन्, त्यसबारे तत्काल उच्चस्तरीय छानबिन र अध्ययन गर्न सरकारसँग माग गरे।
सांसद पुनले विगत तीन महिनादेखि कम्बोडियामा हिरासतमा रहेका नेपाली नागरिकहरूको तत्काल उद्धारका लागि पहल गर्न सरकारलाई आग्रह गरे। रोल्पाको सुनिल स्मृति गाउँपालिका–६ का एक रैथाने नागरिकसहित लुम्बिनी प्रदेशका १५ जना नेपालीहरू कम्बोडियामा थुनिएको जानकारी दिँदै उनले यसबारे परराष्ट्र मन्त्रालयका विभिन्न च्यानलहरूमा पहिले नै अवगत गराइसकेको बताए।
उनले सरकारले कम्बोडियाली सरकारसँग तत्काल कूटनीतिक संवाद गरी उनीहरूको अवस्था बुझ्न र छिटोभन्दा छिटो स्वदेश फिर्ता ल्याउन माग गर्दै समग्र वैदेशिक रोजगारीलाई सुरक्षित बनाउनेतर्फ विशेष ध्यान दिनुपर्नेमा जोड दिए।