गणेश नेपालीको जीवन रक्षाका लागि कसर बाँकी नराख्न लेखा समिति सभापतिको आग्रह
हाम्रा कुरा
प्रकाशित २०८३ असार २६ शुक्रबार
291
Shares
काठमाडौँ । सार्वजनिक लेखा समितिका सभापति भरतबहादुर खड्काले त्रिपुरेश्वरमा आत्मदाहको प्रयास गरेका मुगुका २५ वर्षीय गणेश नेपालीको जीवन रक्षाका लागि आफ्नो सम्पूर्ण शक्ति परिचालन गर्न सरकारसँग जोडदार माग गरेका छन्। शुक्रबार सिंहदरबारमा सञ्चारकर्मीहरूसँग कुरा गर्दै सभापति खड्काले वीर अस्पतालमा जटिल अवस्थामा उपचाररत नेपालीको जीवन बचाउने मुख्य दायित्व राज्यको भएको बताए।
सभापति खड्काले बिहीबार त्रिपुरेश्वरस्थित राहदानी विभाग अगाडि घटेको उक्त घटनालाई अत्यन्तै दर्दनाक र पीडादायी भन्दै नेपालमा सम्भव नभए विदेशमा लगेर भए पनि उनको उपचार गरिनुपर्ने बताए। 'उहाँ अत्यन्तै क्रिटिकल पोजिसनमा हुनुहुन्छ। राज्यले उनलाई बचाउनका लागि जुनसुकै कुरामा पनि ध्यान दिनुपर्छ,' उनले भने, 'जुनसुकै देशमा लगेर भए पनि बचाउनुपर्ने अवस्था आयो भने पनि नागरिकलाई बचाउने राज्यको दायित्व हो। यसमा सरकारले कुनै पनि कसर बाँकी राख्नु हुँदैन।'
नागरिकमा राज्य र राजनीतिक दलहरूप्रति भरोसा नहुँदा कलिलो उमेरमै यस्ता आत्मघाती विकल्प रोज्ने स्थिति सिर्जना भएको खड्काको ठहर छ। देशमा जुनसुकै जातजाति, वर्ग वा समुदायका नागरिकले पनि आफ्नो भविष्य सुरक्षित देख्न सक्ने र स्वाभिमानका साथ बाँच्न पाउने विश्वासिलो वातावरण बनाउन सरकार, राजनीतिक दल र नागरिक समाज सबै गम्भीर हुनुपर्नेमा उनले जोड दिए।
बिहीबार राहदानी विभाग अगाडि महानगर प्रहरीले नेपालीको मोटरसाइकलमा ह्विल लक लगाएपछि उत्पन्न परिस्थितिका कारण उनले आत्मदाहको प्रयास गरेको सन्दर्भ जोड्दै सभापति खड्काले अबका दिनमा यस्ता हृदयविदारक घटना दोहोरिन नदिन सरकार र सम्बद्ध सबै पक्षलाई सचेत गराएका छन्। साथै उनले घाइते नेपालीको शीघ्र स्वास्थ्य लाभको कामना समेत गरे।