संसदीय सुनुवाइ अझ प्रभावकारी बनाउन रास्वपाको फरक प्रस्ताव [भिडियो]
हाम्रा कुरा
प्रकाशित २०८३ असार २५ बिहिबार
142
Shares
काठमाडौँ। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद कविन्द्र बुर्लाकोटीले संसदीय सुनुवाइ प्रक्रियालाई थप प्रभावकारी बनाउन उजुरीकर्ता र प्रस्तावित व्यक्तिसँगको छलफल एउटै दिन सञ्चालन गर्न प्रस्ताव गरेका छन्।
प्रमुख निर्वाचन आयुक्त तथा निर्वाचन आयुक्तहरूको संसदीय सुनुवाइसम्बन्धी छलफल गर्न बिहीबार बसेको संसदीय सुनुवाइ समितिको बैठकमा बोल्दै सांसद बुर्लाकोटीले अघिल्लो सुनुवाइको अनुभवका आधारमा यस्तो व्यवस्था प्रभावकारी हुने बताएका हुन्।
उनले उजुरीकर्तासँगको छलफल र प्रस्तावित व्यक्तिसँगको प्रश्नोत्तर फरक-फरक दिन हुँदा उजुरीका विषयवस्तु पुनः सम्झिनुपर्ने अवस्था आउने उल्लेख गर्दै दुवै प्रक्रिया एउटै दिन सञ्चालन गर्दा छलफल थप व्यवस्थित, केन्द्रित र परिणाममुखी हुने धारणा राखे। आवश्यक परे अन्तिम निर्णयका लागि भने छुट्टै बैठक राख्न सकिने उनको सुझाव थियो।
सांसद बुर्लाकोटीले संसदीय समितिका बैठकहरू भर्चुअल माध्यमबाट सञ्चालन गर्न पनि आग्रह गरे। यसबाट समयको बचत हुने, सदस्यहरूले घर वा कार्यस्थलबाटै आवश्यक अध्ययन गरेर बैठकमा सहभागी हुन सहज हुने र कार्यसम्पादन थप प्रभावकारी बन्ने उनको भनाइ थियो।
उनले समितिका बैठकका लागि आवश्यक कागजात पनि डिजिटल माध्यमबाट उपलब्ध गराउनुपर्नेमा जोड दिँदै संसदीय कार्यलाई आधुनिक प्रविधिमैत्री बनाउनु समयको आवश्यकता भएको बताए।