arrow

वर्षौँसम्म सडक नबनेपछि आक्रोश: झापाका स्थानीयले हिलाम्मे सडकमै रोपे धान

logo
हाम्रा कुरा
प्रकाशित २०८३ असार २५ बिहिबार
jhapa-gau-sadak.jpg

काठमाडौँ । सुरुङ्गादेखि झापा गाउँपालिकाको सिमलबारी, कुवाडी हुँदै झापा बजार जोड्ने लक्ष्मीमार्ग वर्षौंदेखि अलपत्र परेपछि स्थानीय बासिन्दाले अनोठो र आक्रोशपूर्ण विरोध जनाएका छन्। वर्षायाम सुरु भएसँगै हिँडिनसक्नु गरी हिलाम्मे बनेको सडकमै उनीहरूले धान रोपेर सरकार र सम्बन्धित निकायको ध्यान खिच्ने प्रयास गरेका हुन्।

पूर्वी झापाको महत्वपूर्ण आवागमन मार्गका रूपमा रहेको यो सडक निर्माणका लागि स्थानीयले वर्षौंदेखि माग गर्दै आएका थिए। तर, सम्बन्धित निकायले लगातार बेवास्ता गरेपछि बाध्य भएर सडकलाई नै हिलो खेतको रूपमा परिणत गरी धान रोपाइँ गरिएको स्थानीयले बताएका छन्। यो साङ्केतिक विरोधमार्फत उनीहरूले सडकको दयनीय अवस्थाप्रति सरोकारवालाहरूको कडा आलोचना गरेका छन्।

वर्षा सुरु भएसँगै लक्ष्मीमार्ग यतिबेला पूर्ण रूपमा हिलाम्मे बनेको छ। सडकमा पैदल हिँड्नसमेत नसकिने अवस्था रहेको र सवारीसाधन सञ्चालन हुनै नसक्दा स्थानीयको दैनिक जनजीवन निकै कष्टकर बनेको छ। पटक-पटक डेलिगेसन जाँदासमेत आश्वासन मात्रै पाइएकाले यो कदम चाल्नुपरेको आक्रोशित स्थानीयको भनाइ छ।

यो सडक खण्ड पूर्वी झापाका बासिन्दाका लागि व्यापारिक तथा दैनिक आवतजावतका दृष्टिकोणले मेरुदण्ड मानिन्छ। तर, वर्षौंदेखिको ढिलासुस्ती र ठेकेदारको लापरबाहीका कारण हरेक वर्षायाममा सर्वसाधारणले यस्तै सास्ती खेप्दै आएका छन्। स्थानीयले अब थप ढिलाइ नगरी सडकको निर्माण कार्य तत्काल र गुणस्तरीय रूपमा अघि बढाउन सरकारसँग जोडदार माग गरेका छन्।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ