भारी वर्षाको पूर्वानुमानपछि झापामा उच्च सतर्कता, आठ हजार घरधुरी बाढीको उच्च जोखिममा
हाम्रा कुरा
प्रकाशित २०८३ असार १६ मंगलबार
229
Shares
काठमाडौँ ।। जल तथा मौसम विज्ञान विभागले असार १६ र १७ गते पूर्वी तराईसहित देशका विभिन्न स्थानमा भारीदेखि धेरै भारी वर्षाको पूर्वानुमान गरेपछि जिल्ला प्रशासन कार्यालय झापाले उच्च सतर्कता अपनाउन आग्रह गरेको छ। सोमबार एक विज्ञप्ति जारी गर्दै प्रशासनले मेघगर्जन र चट्याङसहित ठूलो वर्षा हुन सक्ने भएकाले नदी तटीय क्षेत्र र डुबानको जोखिममा रहेका सर्वसाधारणलाई सचेत रहन विशेष आग्रह गरेको हो।
अकस्मात बाढी आउन सक्ने भएकाले खोला तथा खहरेको बाटो हुँदै यात्रा नगर्न र सुरक्षित स्थानबारे पूर्वजानकारी लिन प्रशासनले अनुरोध गरेको छ। झापाका मुख्य नदीहरू कनकाई, बिरिङ, रतुवा, मेची, मावा र निन्दा आसपासका क्षेत्रहरू बाढीबाट बढी प्रभावित हुने गरेका छन्। जिल्लाका १५ पालिकामध्ये दक्षिणी भेगका गौरीगञ्ज, कचनकवल, बाह्रदशी, झापा, कमल, शिवसताक्षी र भद्रपुर नगरपालिका बाढी र डुबानको उच्च जोखिममा छन्।
सम्भावित विपद्को सामना गर्न र जनधनको क्षति न्यूनीकरण गर्न नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल, नेपाल रेडक्रस सोसाइटी र स्थानीय तहका संयन्त्रहरूलाई राहत सामग्रीसहित तयारी अवस्थामा राखिएको छ। झापाका प्रमुख जिल्ला अधिकारी शिवराम गेलालले जिल्ला विपद् व्यवस्थापन समितिले एकीकृत विपद् प्रतिकार्य योजना बनाएर पूर्वतयारी गरिरहेको बताए। उनले झापामा पहिलो प्राथमिकताको विपद् बाढी नै भएकाले जनधनको क्षति हुन नदिन प्रहरी, सेना, रेडक्रस र स्थानीय पालिकाहरूसँग निरन्तर समन्वय भइरहेको जानकारी दिए।
नेपाल रेडक्रस सोसाइटी झापाका अनुसार जिल्लाका ८ हजारभन्दा बढी घरधुरी बाढीको अति उच्च जोखिममा छन्। विगतका वर्षहरूको मानवीय क्षतिलाई मध्यनजर गर्दै यस पटक पूर्वसूचना प्रणाली र स्थानीय तहको सक्रियतामा विशेष जोड दिइएको रेडक्रस झापाका सभापति लोकराज ढकालले बताए। उनका अनुसार १२० जनाभन्दा बढी स्वयंसेवक र प्राथमिक उपचार टोली खोज तथा उद्धार सामग्रीसहित जिल्लाभर तयारी अवस्थामा छन्। आकस्मिक अवस्थाका लागि जिल्लाका सात स्थानमा खाद्यान्न लगायतका राहत सामग्री भण्डारण गरिएको छ।
यसैबीच, समुदायस्तरमा विपद् प्रतिकार्य क्षमता बढाउन कोशी प्रदेश आन्तरिक मामिला मन्त्रालय र सशस्त्र प्रहरी बलको आयोजनामा झापामा विशेष तालिम सम्पन्न भएको छ। असार ९ गतेदेखि सञ्चालित उक्त तालिममार्फत भद्रपुर, विर्तामोड, अर्जुनधारा, मेचीनगर र कनकाई नगरपालिकाका २० नगर प्रहरीहरूलाई विपद् व्यवस्थापन र उद्धारका लागि दक्ष बनाइएको छ।