भारतीय प्रधानमन्त्री मोदीलाई इन्डोनेसियाको सर्वोच्च सम्मान, पुगे ३५ देश
हाम्रा कुरा
प्रकाशित २०८३ असार २३ मंगलबार
321
Shares
काठमाडौँ । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई इन्डोनेसियाले सर्वोच्च सम्मान प्रदान गरेको छ । इन्डोनेसिया भ्रमणका क्रममा राष्ट्रपति प्रबोवो सुबियान्तोले प्रधानमन्त्री मोदीलाई "इन्डोनेसिया गणराज्यको बिनताङ आदिपूर्णा" पदक प्रदान गरेका हुन् । यो इन्डोनेसियाको सर्वोच्च नागरिक पुरस्कार हो।
सो सम्मान ग्रहण गर्दै मोदीले खुशी व्यक्त गरेका छन् । उनले सामाजिक सञ्जाल एक्समा लेखेका छन्, 'आज बिहान, धेरै माया र सम्मानका साथ, मलाई इन्डोनेसियाको सर्वोच्च सम्मान प्रदान गरियो। यो सम्मान लाखौँ भारतीयहरूको हो। यसले इन्डोनेसियाली जनताको भावना र हाम्रा दुई देशहरू बीचको ऐतिहासिक, गहिरो सम्बन्धलाई प्रतिबिम्बित गर्दछ। म राष्ट्रपति प्रबोवो, इन्डोनेसियाली सरकार र जनताप्रति हार्दिक आभार व्यक्त गर्दछु ।'
उनले छलफलका क्रममासमेत दुई देशबीचको व्यापारक साझेदारी उचाइमा पुगेको बताएका छन् । उनले भने, 'पछिल्ला वर्षहरूमा भारत-इन्डोनेसियाली सम्बन्धले नयाँ ऊर्जा, विश्वास र गहिराइ प्राप्त गरेको छ । २०१८ मा शुरू गरिएको हाम्रो 'व्यापक रणनीतिक साझेदारी' अब नयाँ उचाइमा पुगिरहेको छ। हामी सबै क्षेत्रहरूमा महत्त्वपूर्ण कदम चालिरहेका छौँ ।'
मोदीलाई अहिलेसम्म ३५ देशले सम्मान गरिसकेका छन् । विश्वका कुनै पनि नेताले हासिल गरेको यो सबैभन्दा धेरै अन्तर्राष्ट्रिय सम्मान हो ।
यसअघि उनलाई यसै वर्ष स्वीडेन, नर्वे, स्लोभाकिया र सेशेल्सले उक्त देशको सर्वोच्च सम्मान प्रदान गरेका थिए ।
यसबाट पनि स्पष्ट हुन्छ कि मोदी विश्वमै थप शक्तिशाली बन्दै गएका छन् । अन्य देशका चर्चित नेताहरू कुनै न कुनै विवादमा अल्झिरहँदा मोदी भने थप शक्तिशाली बन्दै गएका हुन् ।
सन् २०१४ मा प्रधानमन्त्री बनेपछि निरन्तर पकड जमाइरहेका मोदी विश्वकै सबैभन्दा चर्चित नेताको सूचीमा लामो समयदेखि शीर्ष स्थानमा रहँदै आएका छन् ।
उनले पहिलो चरणमा सन् २०१६ देखि २०२० सम्म साउदी अरेबिया, अफगानिस्तान, प्यालेस्टाइन, संयुक्त राष्ट्र संघ, दक्षिण कोरिया, माल्दिभ्स, यूएई, बहराइन, बिल एन्ड मेलिन्डा गेट्स फाउन्डेशन र अमेरिका गरी १० देश तथा उच्च संस्थाहरूले सम्मान गरेका थिए ।
दोस्रो चरणमा सन् २०२१ देखि २०२३ सम्म उनी पपुवा न्यूगिनी, फिजी, इजिप्ट, फ्रान्स र इजिप्ट गरी पाँच देशबाट उच्च सम्मानसहित सम्मानित भए ।
तेस्रो चरणमा सन् २०२४ मा उनले भुटान, रूस, गुयाना, डोमिनिका, नाइजेरिया र कुवेत गरी ६ देशबाट सर्वोच्च सम्मान पाए ।
चौथो चरणमा मोदीले सन् २०२५ र २०२६ को शुरूआतमा बार्बाडोस, मौरिसस, साइप्रस, घाना, ट्रिनिडाड एन्ड टोबागो, ब्रजिल, अर्जेन्टिना, नामिबिया र ओमान गरी ९ देशबाट सम्मानित भए ।
त्यस्तै पाँचौँ चरणमा सन् २०२६ को हालैको युरोप भ्रमणका क्रममा मोदी स्वीडेन, नर्वे, स्लोभाकिया, सेशेल्स र इन्डोनेसियाबाट उच्च सम्मान हासिल गर्न सफल भएका छन् ।