वरिष्ठ नेताहरूलाई सम्मान गर्न तयार छौँ, विधानको दायरा सबैले मान्नुपर्छः पौडेल [भिडियो]
हाम्रा कुरा
प्रकाशित २०८३ असार २२ सोमबार
457
Shares
काठमाडौँ। नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले पार्टीभित्र सबै वरिष्ठ नेताहरूलाई उचित सम्मान दिन आफूहरू तयार रहेको स्पष्ट पार्दै विधानको परिधि र पार्टीको विधिसम्मत निर्णयलाई सबै पक्षले स्वीकार गर्नुपर्ने बताएका छन्।
उनले कांग्रेस कुनै एक व्यक्तिको नभई सबै नेताहरूको साझा योगदानले बनेको संस्था भएकाले आफूहरू वरिष्ठ नेताहरूलाई सम्मान गर्न प्रतिबद्ध रहेको बताए।
आफूभन्दा धेरै योगदान गरेका नेताहरूलाई वरिष्ठ मान्न कुनै समस्या नरहेको उल्लेख गर्दै उनले पार्टीभित्र सम्मानको वातावरण कायम राख्न नेतृत्व तयार रहेको बताए।
पौडेलले सभापतिको पद भने संस्थागत भएकाले त्यसभन्दा माथि कुनै पद वा हैसियत हुन नसक्ने स्पष्ट पारे। सभापतिपछिको वरीयतामा भने आवश्यकताअनुसार वरिष्ठ नेताहरूलाई स्थान दिन नेतृत्व तयार रहेको उनको भनाइ थियो।
उनले विधानको व्यवस्था अनुसार केन्द्रीय समितिमा जति जना नेताहरूलाई समेट्न सकिन्छ, सबैलाई समावेश गरेर अघि बढ्न कांग्रेस नेतृत्व इच्छुक रहेको बताए।
आगामी १५औँ महाधिवेशन सबै पक्षलाई साथमा लिएर, विधिसम्मत र एकताबद्ध ढंगबाट सम्पन्न गर्ने पार्टीको लक्ष्य रहेको उनले दोहोर्याए।
महामन्त्री पौडेलले वरिष्ठ नेताहरूप्रति कुनै अपमान गर्ने मनसाय नरहेको स्पष्ट पार्दै उनीहरूले नै निर्माण गरेको पार्टी भएकाले उनीहरूलाई सम्मान गर्नु आफ्नो दायित्व भएको बताए।
तर त्यसका लागि पार्टी विधानको दायरा र विशेष अधिवेशनबाट भएका विधिसम्मत निर्णयलाई स्वीकार गर्नुपर्ने उनको आग्रह थियो।
'हामी सबैलाई समेटेर अघि बढ्न चाहन्छौं। सम्मान पनि गर्न चाहन्छौं। तर विधानको परिधि सबैले मान्नुपर्छ र विशेष अधिवेशनबाट भएका निर्णयलाई स्वीकार गर्नुपर्छ। त्यसै आधारमा सबैलाई साथमा लिएर कांग्रेसलाई अगाडि बढाउने प्रयास भइरहेको छ,' पौडेलले भने।