विश्व राजनीतिमा वामपन्थी प्रभाव बढ्दै गएको माधव नेपालको दाबी [भिडियो]
हाम्रा कुरा
प्रकाशित २०८३ असार २१ आइतबार
234
Shares
काठमाडौँ। नेपाल कम्युनिष्ट पार्टीका सहसंयोजक एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले विश्व राजनीतिमा वामपन्थी विचारधाराको प्रभाव विस्तार हुँदै गएको दाबी गरेका छन्।
उनले अमेरिकादेखि युरोप, ल्याटिन अमेरिका र अफ्रिकासम्म वामपन्थी शक्तिहरूको प्रभाव बढिरहेको उल्लेख गर्दै नेपाली कम्युनिष्ट आन्दोलनले पनि अन्तर्राष्ट्रिय अनुभवबाट सिकेर अघि बढ्नुपर्ने बताएका छन्।
काठमाडौंमा आइतबार आयोजित पार्टीको उपत्यका प्रदेश समिति एकता तथा समायोजन कार्यक्रमलाई सम्बोधन गर्दै नेपालले विश्व राजनीतिमा चुनौती रहे पनि वामपन्थी शक्तिहरूको प्रभाव क्रमशः बढ्दै गएको बताए।
उनका अनुसार ल्याटिन अमेरिकी मुलुकहरूमा वामपन्थी दलहरूले चुनाव जितेर सरकारको नेतृत्व गरिरहेका छन् भने अफ्रिकी मुलुकहरूमा पनि उनीहरूको प्रभाव विस्तार भइरहेको छ।
उनले चीन विश्व राजनीतिको केन्द्रबिन्दुका रूपमा उदाइरहेको दाबी गर्दै अन्तर्राष्ट्रिय शक्ति सन्तुलन परिवर्तन भइरहेको टिप्पणी गरे।
उनले साम्राज्यवादी शक्तिहरूले अपेक्षा गरेअनुसार विश्व परिस्थिति अघि नबढेको उल्लेख गर्दै चीन र अन्य मुलुकको भूमिकालाई उदाहरणका रूपमा प्रस्तुत गरे।
नेपालले चिनियाँ र भियतनामी कम्युनिष्ट पार्टीका अनुभवबाट मात्र नभई गैरवामपन्थी शक्तिहरूले गरेका सकारात्मक कामबाट पनि सिक्नुपर्ने धारणा राखे।
राजनीतिक प्रतिस्पर्धामा विरोधीका राम्रा अभ्यास अपनाएर आफूलाई अझ सक्षम र प्रभावकारी बनाउनुपर्ने उनको भनाइ थियो।
उनले पार्टी कार्यकर्तालाई संगठन विस्तारमा सक्रिय हुन निर्देशन दिँदै काठमाडौँमा रहेका कार्यकर्ताले राजधानीसँगै आफ्नो गृहजिल्ला र स्थानीय तहसँग पनि निरन्तर सम्पर्कमा रहनुपर्ने बताए।
फोन, सामाजिक सञ्जाल तथा व्यक्तिगत सम्पर्कमार्फत पार्टीको पक्षमा जनमत निर्माण गर्न उनले आग्रह गरे।
विदेशमा रहेका नेपालीमाझ पनि पार्टीप्रति विश्वास र आशा जगाउने जिम्मेवारी कार्यकर्ताको रहेको उल्लेख गर्दै नेपालले संगठन सुदृढीकरण र जनसम्पर्क विस्तारलाई आगामी प्राथमिकता बनाउनुपर्नेमा जोड दिए।