arrow

सरकार संविधान र संघीयता मास्ने दिशामा अघि बढ्यो : प्रचण्ड [भिडियो]

logo
हाम्रा कुरा
प्रकाशित २०८३ असार २१ आइतबार
prachanda-21.jpg

काठमाडौँ । प्रमुख प्रतिपक्षी दल नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का संयोजक एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड' ले वर्तमान सरकार संविधान र संघीय लोकतान्त्रिक गणतन्त्र मास्ने दिशातर्फ अघि बढिरहेको गम्भीर आरोप लगाएका छन्। आइतबार नेकपा उपत्यका प्रदेश समितिले काठमाडौँमा आयोजना गरेको एक कार्यक्रममा बोल्दै उनले यस्तो जिकिर गरेका हुन्।

संयोजक दाहालले वर्तमान बालेन शाह नेतृत्वको सरकार सुशासन र विकासका लागि नभई संविधान र संघीयता अन्तर्गत महिला, दलित, आदिवासी र जनजातिले पाएका अधिकार खोस्न उद्धत रहेको टिप्पणी गरे। सरकारले उचित विकल्पविना सुकुम्बासी बस्ती हटाउने, विद्यार्थी युनियनहरू खारेज गर्ने, ट्रेड युनियनको अधिकार खोस्ने र देशको सिमानाको विषयमा जथाभाबी बोल्ने काम गरिरहेको उनको भनाइ छ।

कार्यक्रममा बोल्दै प्रचण्डले भने,"सुकुम्बासी, विद्यार्थी, ट्रेड युनियन र सीमानाका विषयमा सरकारले गलत कदम चालेपछि मैले एकचोटि संसद्‌मा बोलेको थिएँ। अब फेरि बोल्दै छु, किनकि अहिले सरकारविरुद्ध बोल्ने धेरै सामग्रीहरू तयार भएका छन्। यो सरकार सुशासनका लागि होइन, संविधान र गणतन्त्र मास्ने दिशातिर अगाडि बढ्दै छ। त्यसैले खबरदार, हामी सबै एकचोटि जुर्मुराउनुपर्ने अवस्था आइलागेको छ।"

आफ्नो पार्टीको विगतको समीक्षा गर्दै अध्यक्ष दाहालले कम्युनिस्ट आन्दोलनमा आफूहरूले वर्ग संघर्ष, विचार र दीर्घकालीन रणनीतिलाई बेवास्ता गरेर दैनिक कार्यनीतिमा मात्र रमाउने गम्भीर गल्ती गरेको स्वीकार गरे। "त्यसरी कार्यनीतिमा मात्रै रमाउँदा हामी बिग्रियौँ र त्यसको मुख्य जिम्मेवारी मैले लिनुपर्दछ," उनले थपे, "म आफैँ तीन चोटी प्रधानमन्त्री भइसकेकाले अरूलाई दोष दिएर सुख पाउँदिन। कतिपय बेला त हैरान भएर सबै मिलेर मलाई छिटो (राजनीतिबाट) हटाइदिनुस् भन्न मन लाग्छ।"

विगतका गल्ती र कमजोरीबाट शिक्षा लिँदै अब सरकारका जनविरोधी र संविधानविरोधी कदमका विरुद्ध पार्टी पंक्तिलाई एकजुट भएर आन्दोलनमा होमिन उनले विशेष आह्वान गरे।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ