काठमाडौँ । नर्वे विश्वकप फुटबलको क्वार्टरफाइनलमा पुगेको छ । प्रिक्वार्टरफाइनलमा विश्वकप इतिहासको सर्वाधिक सफल टिम ब्रजिललाई पराजित गर्दै नर्वे क्वार्टरफाइनलमा प्रवेश गरेको हो ।
आज बिहान सम्पन्न खेलमा ब्रजिल २–१ ले पराजित भयो । नर्वेलाई ऐतिहासिक जित दिलाउन दुवै गोल अर्लिङ हलाण्डले गरे ।
उनले पहिलो गोल ७९ औँ मिनेटमा र दोस्रो गोल ९० औँ मिनेटमा गरे ।
ब्रजिलले भने इन्जुरी समयको दशौँ मिनेटमा पेनाल्टीमार्फत सान्त्वना गोल गरेको थियो । नेयमारले उक्त पेनाल्टी गोल गरेका हुन् ।
घाइते भएर फर्केपछि नेयमारको यो पहिलो खेल थियो । उनले इन्जुरी समयको छैटौँ मिनेटमा पहेँलो कार्ड खाएपछि ब्रजिलले पेनाल्टी पाएको थियो ।
खेलमा ब्रजिलले निकै नै कमजोर प्रदर्शन गर्यो । ब्रजिलले ३३ प्रतिशत बलमात्र आफ्नो नियन्त्रणमा लिन सकेको थियो ।
ब्रजिल पाँच पटकको च्याम्पियन हो । सन् १९५८, १९६२, १९७०, १९९४ र २००२ मा ब्रजिलले उपाधि जितेको थियो ।
चौथो पटक विश्वकप खेलिरहेको नर्वे पहिलो पटक क्वार्टरफाइनलमा पुगेको हो । यसअघि सन् १९३८ को पहिलो सहभागितामा प्रिक्वार्टरफाइनल, १९९४ मा समूह चरण र १९९८ मा प्रिक्वार्टरफाइनलमा पुगेको थियो ।
यसअघि क्यानाडालाई ३–० ले हराउँदै मोरक्को क्वार्टरफाइनलमा पुगिसकेको छ ।