काठमाडौँ। निजामती कर्मचारीलाई सहज र छिटो स्वास्थ्य सेवा उपलब्ध गराउने उद्देश्यले संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयमा निजामती कर्मचारी अस्पतालको सेवा इकाई सञ्चालनमा आएको छ।
मन्त्रालय भवनको तल्लो तलामा स्थापना गरिएको उक्त सेवा इकाई शुक्रबारदेखि सञ्चालनमा आएको हो।
मन्त्रालयका अनुसार कर्मचारीहरूले सामान्य स्वास्थ्य सेवाका लागि अस्पतालसम्म धाउनुपर्ने बाध्यता कम गर्दै कार्यस्थलमै आवश्यक स्वास्थ्य सेवा उपलब्ध गराउने उद्देश्यले सेवा इकाई स्थापना गरिएको हो।
निजामती कर्मचारी अस्पतालमा बढ्दो सेवाग्राहीको चाप व्यवस्थापन गर्न तथा कर्मचारीलाई सहज पहुँच सुनिश्चित गर्न मन्त्रालय परिसरमै स्वास्थ्य सेवा इकाई सञ्चालनमा ल्याइएको मन्त्रालयले जनाएको छ।
सेवा इकाईमार्फत निजामती कर्मचारी तथा मन्त्रालयका सेवाग्राहीलाई स्वास्थ्य परीक्षण, रगत परीक्षणलगायत आधारभूत स्वास्थ्य सेवाहरू उपलब्ध गराइनेछ।