काठमाडौँ । सरकारले चितवनस्थित वीपी कोइराला मेमोरियल क्यान्सर अस्पतालको रिक्त अध्यक्ष पदमा वरिष्ठ चिकित्सक डा. योगेन्द्रप्रसाद सिंहलाई नियुक्त गरेको छ। नियुक्तिलगत्तै नवनियुक्त अध्यक्ष डा. सिंहले आज स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्री निशा मेहताबाट पद तथा गोपनीयताको शपथ ग्रहण गरेका छन्।
अस्पतालको अध्यक्ष पदका लागि परेका विभिन्न आवेदनहरूमध्येबाट मन्त्रालयको छनोट समितिले डा. योगेन्द्रप्रसाद सिंह, डा. अजयकुमार झा र डा. विजयचन्द्र आचार्यको नाम अन्तिम सिफारिसका रूपमा पठाएको थियो। सरकारले ती तीन नाममध्येबाट वरिष्ठता र अनुभवका आधारमा डा. सिंहलाई अध्यक्षको जिम्मेवारी सुम्पिने निर्णय गरेको हो।
नवनियुक्त अध्यक्ष डा. सिंह स्वास्थ्य क्षेत्रका अत्यन्तै अनुभवी र आदरणीय व्यक्तित्व हुन्। उनले त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल (टीयू टिचिङ हस्पिटल) मा ४६ वर्ष लामो समयसम्म स्वास्थ्य सेवा प्रदान गरी अवकाश प्राप्त गरेका थिए। पद तथा गोपनीयताको शपथ ग्रहण गरेसँगै डा. सिंहले वीपी कोइराला मेमोरियल क्यान्सर अस्पतालको अध्यक्षको रूपमा आफ्नो औपचारिक कार्यभार समेत सम्हालेका छन्।