राष्ट्रिय चिया लिलामी बजार तत्काल स्थापना गर्न सांसदको माग
‘विश्व चिया बजारको नक्सामा नेपाल अझै परेन’
हाम्रा कुरा
प्रकाशित २०८३ असार १९ शुक्रबार
185
Shares
काठमाडौँ । नेपाली कम्युनिष्ट पार्टी (नेकपा) की राष्ट्रिय सभा सांसद उर्मिला अर्यालले नेपालमा राष्ट्रिय चिया लिलामी बजार (टी अक्सन मार्केट) तत्काल स्थापना गर्न सरकारसँग माग गरेकी छन्। शुक्रबार बसेको राष्ट्रिय सभा बैठकमा कृषि, वन तथा पर्यावरण मन्त्रालयको विनियोजन शीर्षकमाथिको छलफलमा भाग लिँदै उनले यस्तो माग गरेकी हुन्।
सांसद अर्यालले आफ्नै देशमा लिलामी बजार नहुँदा नेपाली चियाले अन्तर्राष्ट्रिय बजारमा सोचेअनुरूप पहिचान र उचित मूल्य पाउन नसकेको तथ्य औँल्याइन्। आफ्नै संरचना नहुँदा नेपाली चिया उद्योगहरू भारतीय बजारमा निर्भर हुनुपरेको भन्दै उनले चिया निर्यातसम्बन्धी स्पष्ट र उचित कानुन तर्जुमा गर्न सरकारलाई सचेत गराइन्।
बैठकमा बोल्दै सांसद अर्यालले भनिन्, “नेपालको चिया उद्योगको उचित सञ्चालनका लागि चिया लिलाम बजार स्थापना गर्ने कार्य हालसम्म बाँकी नै छ। यसको विकल्पमा नेपाली चियाले भारतको सिलिगुडी र कोलकाताका लिलाम बजारमा निर्भर हुनुपरेको अवस्था छ। हाम्रो आफ्नै लिलाम बजार छैन। प्रष्ट छ कि राष्ट्रिय चिया लिलाम बजारविना नेपालको चिया प्रवर्द्धन हुन सक्दैन। त्यसै कारणले हालसम्म विश्व चिया बजारको नक्सामा नेपाल उल्लेख हुन सकेको छैन। नेपालले चिया लिलाम बजारमा आफ्नो उत्पादनलाई ब्रान्डसहित राख्नुपर्ने हुन्छ, जुन कार्य गर्न अझै बाँकी छ।”
उनले नेपाली चियालाई विश्व बजारमा प्रतिस्पर्धी र स्थापित गराउनका लागि सरकारले ठोस नीति तथा कार्यक्रम ल्याएर तत्काल कार्यान्वयनमा लैजानुपर्नेमा जोड दिइन्।