arrow

राष्ट्रिय सभा

विद्युत् व्यापार र खपत बढाउन सरकारले उचित कदम चाल्नुपर्छ: सांसद गुरुङ

logo
हाम्रा कुरा
प्रकाशित २०८३ असार १९ शुक्रबार
durga-gurung.jpg

काठमाडौँ । नेपाली कांग्रेसकी सांसद दुर्गा गुरुङले मुलुकको ऊर्जा व्यापारलाई प्रभावकारी बनाउन र उत्पादित विद्युत्को सही सदुपयोग गर्न सरकारले तत्काल उचित कदम चाल्नुपर्ने बताएकी छन्। शुक्रबार बसेको राष्ट्रिय सभा बैठकमा ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयको विनियोजन शीर्षकमाथिको छलफलमा भाग लिँदै उनले यस्तो धारणा राखेकी हुन्।

सांसद गुरुङले देशमा जलविद्युत् उत्पादन बढे पनि प्रसारण लाइन निर्माणमा भएको ढिलाइ र भण्डारणको उचित व्यवस्था नहुँदा उत्पादित विद्युत् पूर्ण रूपमा उपयोग हुन नसकेको तर्फ सरकारको ध्यानाकर्षण गराइन्। उनले राष्ट्रिय गौरव र महत्वका जलविद्युत् आयोजनाहरू समयमै सम्पन्न गर्नका लागि सरकारलाई गति बढाउन दबाब समेत दिइन्।

छलफलका क्रममा आफ्नो धारणा राख्दै सांसद गुरुङले भनिन्, “आज पनि धेरै जलविद्युत् आयोजनाहरू समयमा नै सम्पन्न हुन सकेका छैनन्। कतै प्रसारण लाइन निर्माणमा ढिलाइ छ, कतै जग्गा अधिग्रहणको समस्या छ त कतै वातावरणीय प्रभाव मूल्याङ्कन (ईआईए) को विषय अड्किएको छ। परिणामस्वरूप, उत्पादन भएको विद्युत् समेत पूर्ण रूपमा उपयोग हुन सकेको छैन। यो केवल प्रशासनिक कमजोरी मात्र होइन, राष्ट्रिय स्रोतको उपयोगमा भएको गम्भीर कमजोरी पनि हो। त्यसैले ऊर्जा व्यापार र यसको बजार व्यवस्थापनमा सरकारले ठोस कदम चाल्न आवश्यक छ।”

यसका साथै उनले उत्पादित बिजुली विदेशमा व्यापार गर्नुका साथै स्वदेशमै पनि विद्युत्को खपत क्षमता बढाउनेतर्फ सरकारले विशेष ध्यान दिनुपर्ने र सोही अनुरूपका नीति तथा कार्यक्रमहरू ल्याउनुपर्नेमा जोड दिइन्।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ