arrow

गम्भीर मानवीय संकटमा भेनेजुएला

logo
हाम्रा कुरा
प्रकाशित २०८३ असार १८ बिहिबार
venezuela-bhukampa-18-03.jpg

काठमाडौँ। शक्तिशाली भूकम्पबाट गम्भीर मानवीय संकटमा परेको भेनेजुएलामा अमेरिकी प्रतिबन्धका कारण राहत सामग्री र आर्थिक सहयोग प्रभावित भएको आरोप लगाइएको छ।

गत साता आएको विनाशकारी भूकम्पले ठूलो जनधनको क्षति पुर्‍याएपछि संयुक्त राज्य अमेरिकाले केही प्रतिबन्ध अस्थायी रूपमा खुकुलो पारे पनि दीर्घकालीन प्रतिबन्धका कारण राहत तथा पुनःस्थापना अभियान प्रभावकारी रूपमा अघि बढ्न नसकेको बताइएको छ।

विशेषज्ञहरूका अनुसार लामो समयदेखि कायम अमेरिकी प्रतिबन्धले राहतका लागि आवश्यक कोष, उपकरण र मानवीय सहायता सामग्रीको पहुँचमा संरचनागत अवरोध सिर्जना गरेको छ। यसले उद्धार, राहत र पुनर्निर्माणका कामलाई थप जटिल बनाएको उनीहरूको भनाइ छ।

भूकम्पपीडित अल्बर्टो पेरेजले अझै धेरै सहयोगको आवश्यकता रहेको बताए। उनले स्थानीय नागरिकले आफ्नो तर्फबाट सहयोग गरिरहेका भए पनि संकटको आकारका तुलनामा त्यो पर्याप्त नभएको उल्लेख गरे।

राजनीतिक विश्लेषक डिएगो सेकेराले अमेरिकी प्रशासनका कानूनी तथा प्रशासनिक व्यवस्थाकै कारण प्रतिबन्धले राहत प्रवाहमा प्रत्यक्ष असर परेको दाबी गरेका छन्।

संयुक्त राष्ट्रसंघका अनुमानअनुसार यस विपदबाट करिब ७० लाख मानिस प्रभावित भएका छन्। भूकम्पका कारण करिब ६.७ अर्ब अमेरिकी डलर बराबरको भौतिक क्षति भएको छ, जुन भेनेजुएलाको कुल गार्हस्थ्य उत्पादन (जीडीपी) को करिब ६ प्रतिशत बराबर हो।

गत जुन २४ मा उत्तर भेनेजुएलामा लगातार ७.० रेक्टरस्केल भन्दा माथिका दुई शक्तिशाली भूकम्प गएका थिए। ती भूकम्पपछि मृत्यु हुनेको संख्या एक हजार ९४३ पुगेको छ भने १० हजारभन्दा बढी मानिस घाइते भएका छन्। यो जानकारी भेनेजुएलाको राष्ट्रिय सभाका अध्यक्ष जोर्ज रोड्रिगेजले दिएका हुन्।

भेनेजुएला सरकारले संयुक्त राष्ट्रसंघ तथा अन्य अन्तर्राष्ट्रिय मानवीय संस्थासँग सहकार्य गर्दै प्रभावित क्षेत्रमा राहत, उद्धार र पुनःस्थापनाका कामलाई तीव्रता दिएको जनाएको छ।

मानवीय संकटका बेला राजनीतिक मतभेदभन्दा नागरिकको जीवन रक्षा पहिलो प्राथमिकता हुनुपर्ने भन्दै अन्तर्राष्ट्रिय समुदायबाट पनि प्रभावित क्षेत्रमा निर्बाध रूपमा राहत पुर्‍याउनुपर्ने आवाज उठिरहेको छ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ