भेनेजुएलामा ३९ सेकेन्डको अन्तरमा दुई शक्तिशाली भूकम्प, हजारौँ मारिएको शंका
सरकारले अहिलेसम्म सार्वजनिक गरेन मृतकको संख्या, देशभर राष्ट्रिय आपतकालीन अवस्था घोषणा, काराकास नजिकैको मैकेतिया अन्तर्राष्ट्रिय विमानस्थल बन्द
हाम्रा कुरा
प्रकाशित २०८३ असार ११ बिहिबार
610
Shares
अपडेट
काठमाडौँ । भेनेजुएलाको उत्तर–मध्य क्षेत्रमा बुधबार बेलुकी ७.५ र ७.२ रेक्टर स्केलका दुई शक्तिशाली भूकम्प गएपछि ठूलो क्षति भएको छ । अमेरिकी भूगर्भ सर्वेक्षण (यूएसजीएस) ले उच्च मानवीय क्षति र व्यापक विनाशको सम्भावना रहेको जनाएको छ ।
पहिलो ७.२ रेक्टर स्केलको भूकम्प गएको ३९ सेकेन्डपछि ७.५ रेक्टर स्केलको अर्को शक्तिशाली भूकम्प गएको थियो । दुवै भूकम्पको केन्द्रबिन्दु काराकासबाट करिब १६० किलोमिटर पश्चिममा रहेको बताइएको छ ।
अमेरिकी भूगर्भ सर्वेक्षणको प्रारम्भिक मूल्याङ्कनअनुसार १० हजारभन्दा बढी मानिसको मृत्यु हुन सक्ने सम्भावना ४४ प्रतिशत र एक लाखभन्दा बढी मानिसको मृत्यु हुन सक्ने सम्भावना ३० प्रतिशत रहेको जनाइएको छ ।
सयौँ भवनहरू भत्किएको तथा प्रभावित क्षेत्रमा खोज तथा उद्धार कार्य जारी रहेको जनाइएको छ ।
सरकारले अहिलेसम्म मृत्यु हुनेको संख्या सार्वजनिक गरेको छैन।
राष्ट्रका नाममा सम्बोधन गर्दै राष्ट्रपति डेल्सी रोड्रिगेजले भूकम्पमा ज्यान गुमाउनेहरूका परिवारप्रति समवेदना व्यक्त गरेका छन् । उनले मृत्यु हुनेको संख्या खुलाएनन्, तर उनले भने कि सरकार राहत र उद्धार कार्यमा पूर्ण रूपमा संलग्न छ।
राष्ट्रपतिका अनुसार भूकम्पमा विमानस्थल क्षतिग्रस्त भएको थियो र सुरक्षा कारणले गर्दा हाललाई बन्द गरिएको छ। रोड्रिगेजले संयुक्त राज्य अमेरिकासहित धेरै देशहरूले भेनेजुएलालाई सम्पर्क गरेर समवेदना व्यक्त गरेको र सबै सम्भावित सहयोगको आश्वासन दिएको पनि बताए ।
राष्ट्रपतिले आपतकालीन अवस्था घोषणा गरे
राष्ट्रपति रोड्रिगेजले देशभर राष्ट्रिय आपतकालीन अवस्था घोषणा गरेका छन् । उनले डाक्टर र नर्सहरूलाई तुरुन्तै अस्पताल पुग्न र घाइतेहरूको उपचार शुरू गर्न आग्रह गरेका छन् ।
उनले अर्को सूचना नभएसम्म काराकास नजिकैको मैकेतिया अन्तर्राष्ट्रिय विमानस्थल बन्द गर्ने घोषणा पनि उनले गरेका छन् ।