बजेटमा पुनर्निर्माणलाई प्राथमिकता दिन सरकारलाई दबाब
पुनर्निर्माणमा सरकारी उदासीनता विरुद्ध जाजरकोटका भूकम्पपीडितको प्रदर्शन
हाम्रा कुरा
प्रकाशित २०८३ वैशाख २२ मंगलबार
263
Shares
काठमाडौं । पुनर्निर्माण कार्यमा सरकार उदासीन बनेको आरोप लगाउँदै जाजरकोटका भूकम्पपीडितहरूले सोमबार काठमाडौंस्थित माइतीघर मण्डलामा विरोध प्रदर्शन गरेका छन्। भूकम्प गएको लामो समय बितिसक्दा पनि प्रभावित क्षेत्रका नागरिकहरू अझै अस्थायी बासमै कष्टकर जीवन गुजार्न बाध्य भएको भन्दै उनीहरूले आन्दोलन गरेका हुन्।
२०८० साल कात्तिक १७ गते जाजरकोटको बारेकोट गाउँपालिकास्थित रामीडाँडालाई केन्द्रबिन्दु बनाएर गएको ६.४ रेक्टरस्केलको भूकम्पले जाजरकोट, रुकुम पश्चिम र सल्यानमा व्यापक जनधनको क्षति पुर्याएको थियो। उक्त विपद्मा १ सय ५० भन्दा बढी नागरिकको ज्यान गएको थियो भने हजारौँ घरधुरी प्रभावित बनेका थिए।
भूकम्पपछिको पुनस्र्थापना र पुनर्निर्माण कार्य प्रभावकारी रूपमा अगाडि नबढेको भन्दै पीडितहरूले सरकारप्रति गम्भीर असन्तुष्टि जनाएका छन्। उनीहरूका अनुसार अझै धेरै परिवार टिनको टहरामै कष्टकर जीवन बिताइरहेका छन्।
आगामी आर्थिक वर्ष २०८३/८४ को बजेटमा पुनर्निर्माणलाई प्राथमिकता दिन सरकारलाई दबाब सिर्जना गर्न यो आन्दोलन गरिएको प्रदर्शनमा सहभागीहरूले बताए। पीडितहरूले दैनिक कठिनाइ झेलिरहे पनि राज्यले पर्याप्त चासो नदिएको उनीहरूको गुनासो रहेको छ।
प्रदर्शनकारीहरूले पुनर्निर्माणलाई तीव्रता दिन ११ बुँदे मागसमेत सार्वजनिक गरेका छन्। उनीहरूले राहत तथा अनुदान वितरणमा भइरहेको ढिलाइ अन्त्य गर्न, क्षति विवरण पुनः मूल्याङ्कन गर्न, लाभग्राहीलाई शीघ्र अनुदान उपलब्ध गराउन, भूकम्प प्रतिरोधी घर निर्माणलाई सुनिश्चित गर्न तथा जोखिमयुक्त बस्ती सुरक्षित स्थानमा सार्ने प्रक्रिया तत्काल अघि बढाउन माग गरेका छन्।