भेनेजुएला भूकम्प: मृत्यु हुनेको संख्या एक सय ६४ पुग्यो
हाम्रा कुरा
प्रकाशित २०८३ असार ११ बिहिबार
317
Shares
काठमाडौँ । भेनेजुएलामा गएको शक्तिशाली भूकम्पका कारण ज्यान गुमाउनेको संख्या एक सय ६४ पुगेको छ भने नौ सय ७१ जना घाइते भएका छन्।
भेनेजुएलाकी कार्यवाहक राष्ट्रपति डेल्सी रोड्रिगेजले भूकम्पबाट ठूलो जनधनको क्षति भएको पुष्टि गर्दै पछिल्लो विवरण सार्वजनिक गरेकी हुन्।
बुधबार बेलुकी ७.२ र ७.५ रेक्टरस्केलका दुई शक्तिशाली भूकम्प गएको बताइएको छ। यी भूकम्पहरू भेनेजुएलाको इतिहासमा एक शताब्दीभन्दा बढी समययताकै सबैभन्दा विनाशकारी मानिएका छन्। भूकम्पको धक्का देशका अधिकांश क्षेत्रका साथै छिमेकी राष्ट्रहरूमा समेत महसुस गरिएको थियो।
भूकम्पका कारण धेरै बहुमञ्जिले तथा ठूला भवनहरू भत्किएका छन्। भवनका भग्नावशेषमा पुरिएका नागरिकहरूको उद्धार कार्य जारी रहेको अधिकारीहरूले बताएका छन्।
सरकारी टेलिभिजनले सार्वजनिक गरेको दृश्यमा सबैभन्दा बढी प्रभावित ला गुआइरा राज्यमा उद्धारकर्मीहरूले तीन जना बालबालिकालाई जीवितै उद्धार गरेको देखाइएको छ। धूलोले लतपतिएका ती बालबालिका सकुशल फेला परेको जनाइएको छ।
कार्यवाहक राष्ट्रपति रोड्रिगेजले ला गुआइरा क्षेत्रलाई ‘संकटग्रस्त क्षेत्र’ घोषणा गर्दै भौतिक संरचनामा व्यापक क्षति पुगेकाले त्यहाँ युद्धस्तरमा उद्धार तथा राहत कार्य सञ्चालन भइरहेको जानकारी दिएकी छन्।