सांसदहरूले उठाएका समसामयिक विषयबारे तत्काल सम्बोधन गर्न सरकारसँग माग
हाम्रा कुरा
प्रकाशित २०८३ असार १७ बुधबार
168
Shares
काठमाडौँ । राष्ट्रिय सभामा प्रमुख प्रतिपक्ष दलकी नेता कमला पन्तले संसदमा सांसदहरूले उठाएका समसामयिक विषयबारे तत्काल सम्बोधन गर्न सरकारसँग माग गरेकी छन्। बुधबार बसेको राष्ट्रिय सभा बैठकको शून्य समयमा बोल्दै उनले सदनमा सांसदहरूले जनसरोकारका विभिन्न समसामयिक मुद्दाहरू निरन्तर उठाइरहे पनि सरकारले अहिलेसम्म त्यसको सुनुवाइ नगरेको भन्दै तीव्र असन्तुष्टि व्यक्त गरेकी हुन्
। नेता पन्तले जनजीविकाका गम्भीर विषयमा सरकारलाई जवाफदेही बनाउन र सम्बोधन गर्नका लागि आवश्यक रुलिङ नगरेको भन्दै राष्ट्रिय सभाका अध्यक्ष नारायणप्रसाद दाहालको समेत आलोचना गरिन्।
संसद सुरु भएको लामो समय भइसक्दा पनि शून्य समयमा सांसदहरूले गराएको ध्यानाकर्षण र उठाएका सवालमा सरकारले कुनै रेस्पोन्स नगरेको र यसबारे आफूले कतैबाट जानकारी नपाएको उनले बताइन्। संसदमा जनप्रतिनिधिहरूले देशको समसामयिक वस्तुस्थितिबारे आवाज उठाउनु कर्तव्य भएको उल्लेख गर्दै उनले सरकारले त्यसलाई गम्भीरतापूर्वक लिएर सदनसमक्ष स्पष्ट पार्नुको विकल्प नरहेको कुरामा जोड दिइन्।
सरकारलाई संसद्प्रति जवाफदेही बन्न आग्रह गर्दै उनले जनसरोकारका विषयमा सरकारको तर्फबाट तत्काल आधिकारिक धारणा आउनुपर्ने मागसहित आफ्नो भनाइ टुङ्ग्याइन्।