तीन अङ्गबीच कार्यगत एकता भए मात्र मुलुकमा समृद्धि र सुशासन सम्भव
हाम्रा कुरा
प्रकाशित २०८३ असार १६ मंगलबार
170
Shares
काठमाडौँ । सभामुख डोलप्रसाद अर्यालले मुलुकको समृद्धि, सुशासन र भ्रष्टाचार अन्त्यका लागि राज्यका प्रमुख तीन अङ्ग (कार्यपालिका, न्यायपालिका र व्यवस्थापिका) बीच कार्यगत एकता र गतिशीलता आवश्यक रहेको बताएका छन्। ६८ औं संसद दिवसको अवसरमा मंगलबार सिंहदरबारमा आयोजित विशेष कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो धारणा राखेका हुन्। सभामुख अर्यालले जनजीविका, राष्ट्रियता र समृद्ध राष्ट्र निर्माणको दिशामा सरकारलाई निरन्तर खबरदारी गर्न नागरिक समाज र सरोकारवालाहरूलाई आग्रह गरे।
नेपाल अब साँच्चिकै बस्न लायक मुलुक बन्यो र स्वदेश फर्किनुपर्छ भन्ने वातावरण सिर्जना गर्न सबै पक्षको सक्रियता आवश्यक रहेको उनले बताए। वैदेशिक रोजगारी र अन्य सिलसिलामा विश्वभर छरिएर रहेका नेपालीहरूलाई स्वदेश फर्किने आधार तयार गर्न नागरिकले राज्यलाई निरन्तर झक्झक्याइरहनुपर्ने उनको भनाइ छ। विकास र सुशासनको मार्गमा अनावश्यक प्रक्रियागत जटिलतामा अल्झिनु नहुने र भ्रष्टाचारमुक्त समाज निर्माणमा केन्द्रित हुनुपर्नेमा उनले जोड दिए। अघिल्लो पुस्ताको अनुभव र नयाँ पुस्ताको प्रविधिमैत्री ज्ञानलाई एकीकृत गरेर मात्र मुलुकलाई द्रुतमार्गबाट विकासको दिशामा अगाडि बढाउन सकिने उनको तर्क छ।
सभामुख अर्यालले राज्यका तीनै अङ्गको 'स्पिड र स्पिरिट' (गति र भावना) मिलेमा मात्र जनताको चाहनाअनुसारको परिणाममुखी काम गर्न सकिने उल्लेख गरे। उनले संविधानको अक्षरशः पालना गर्दै कानूनी राज्यको अवधारणामा कुनै आँच नआउने गरी अगाडि बढ्नुपर्ने आवश्यकता औंल्याए। मुलुकमा उच्चस्तरको राजनीति गर्ने अवसर अघिल्लो पुस्ताले प्रदान गरेको स्मरण गर्दै उनले वर्तमान र भावी पुस्ताको क्षमतालाई कदर गर्दै राष्ट्र निर्माणमा लाग्नुपर्ने बताए।