सांसदहरूलाई सभामुखको निर्देशन - जनताको मूल्याङ्कनमा अब्बल हुने गरी व्यवहार देखाउनुस्
समयको पालना गरौँ
हाम्रा कुरा
प्रकाशित २०८३ असार १५ सोमबार
165
Shares
काठमाडौँ । प्रतिनिधि सभाका सभामुख डोलप्रसाद अर्यालले जनताको मूल्याङ्कनमा अब्बल हुने गरी आफ्ना गतिविधि र व्यवहारहरू अघि बढाउन सांसदहरूलाई निर्देशन दिएका छन्।
सङ्घीय संसद् सचिवालयले सिंहदरबारमा सोमबारदेखि नवनिर्वाचित सांसदहरूका लागि आयोजना गरेको दुईदिने अभिमुखीकरण कार्यक्रमको उद्घाटन गर्दै सभामुख अर्यालले यस्तो निर्देशन दिएका हुन्। उनले लाखौँ नेपाली जनताले मत दिएर पठाएका जिम्मेवार नागरिक भएकाले सांसदहरूले आम जनताको कडा मूल्याङ्कनको कसीमा खरो उत्रिनुपर्ने स्पष्ट पारे।
सभामुख अर्यालले सांसदहरूबीच मुलुकका लागि राम्रो कानुन बनाउने र संसद्मा उत्कृष्ट व्यवहार प्रदर्शन गर्ने कुरामा स्वस्थ प्रतिस्पर्धा हुन आवश्यक रहेको बताए। सांसदहरूको हरेक गतिविधिलाई आम जनताले नजिकबाट हेरिरहेकाले संसद् र बाहिर पनि जनअपेक्षाअनुसार काम गर्नुपर्ने उनको भनाइ थियो।
कार्यक्रममा बोल्दै सभामुख अर्यालले भने, "धेरै माननीय सदस्यहरू नयाँ हुनुहुन्छ। नयाँको अर्थ तपाईंहरूले नेपाल वा नेपालको कानुन र विधि नबुझ्नुभएको भन्ने होइन, तर यो सङ्घीय संसद् प्रतिनिधि सभाको विधि र प्रक्रियामा हामी अभ्यस्त भइसकेका छैनौँ। हामी लाखौँ जनताले मत दिएर पठाएका जिम्मेवार नागरिक हौँ। त्यसैले आजको समयमा उपस्थित हुने कुरादेखि हाम्रा हरेक व्यवहारलाई जनताले मूल्याङ्कन गरिरहनुभएको छ। अब तपाईं हाम्रो मूल्याङ्कन दलका अध्यक्ष, प्रधानमन्त्री वा सचिवालयले भन्दा पनि सिधै जनताले गरिरहनुभएको छ।"
उनले जनताले गर्ने त्यो मूल्याङ्कनमा अब्बल नम्बर ल्याउन सांसदहरूलाई आग्रह गरे। "सांसद-सांसदबीच राम्रो कानुन बनाउने, राम्रो व्यवहार देखाउने र राम्रो प्रस्तुति दिने कुरामा प्रतिस्पर्धा हुनुपर्छ," उनले थपे, "अभिमुखीकरणका क्रममा हतार नगरी, भित्र बस्दा साइडटक (आपसी कुराकानी) नगरी र मोबाइलमा धेरै अभ्यस्त नभई केही सिकेर जाऔँ। यो सिकाइको अनुभूति अब हुने प्रतिनिधि सभा बैठकमा मैले, सचिवालयले र सबैभन्दा बढी तपाईंहरूका मतदाताले गर्न पाऊन्।"
यसैबिच सभामुख अर्यालले महत्त्वपूर्ण अभिमुखीकरण कार्यक्रममा सबै सांसदहरूको उपस्थिति नभएको भन्दै असन्तुष्टि समेत व्यक्त गरे। उनले बिहान १० बजेको समयमै सबै सांसदहरूको उपस्थितिको अपेक्षा गरिए पनि त्यसो हुन नसकेको भन्दै समय पालनामा गम्भीर हुन सचेत गराए। यस अभिमुखीकरण कार्यक्रमबाट सिकेर सांसदहरूले आगामी दिनमा आफ्नो भूमिकालाई अझ बढी प्रभावकारी र जिम्मेवार बनाउने विश्वास उनले व्यक्त गरे।