टेलिकमले फोरजी सेवा शुरू गरेपछि स्थानीय र पर्यटकलाई राहत
हाम्रा कुरा
प्रकाशित २०८३ असार १६ मंगलबार
148
Shares
मुगु। राराको प्रमुख पर्यटकीय गन्तव्य मुर्माटपमा नेपाल टेलिकमले फोरजी सेवा शुरू गरेपछि स्थानीय बासिन्दा र पर्यटकलाई राहत मिलेको छ।
छायाँनाथ रारा नगरपालिका-९ स्थित मुर्माटपमा नेपाल टेलिकमले फोरजी टावर निर्माण गरी असार १५ गतेदेखि तीव्र गतिको फोरजी सेवा विस्तार गरेको हो। यससँगै रारा क्षेत्रलगायत आसपासका बस्तीका स्थानीय नागरिक तथा स्वदेशी-विदेशी पर्यटकले सहज रूपमा इन्टरनेट सेवा प्रयोग गर्न थालेका छन्।
मुर्मा गाउँका डवल रोकायाले फोरजी टावर निर्माणसँगै इन्टरनेट सेवा शुरू भएपछि स्थानीय निकै खुसी भएको बताए। रारा घुम्न आउने स्वदेशी तथा विदेशी पर्यटकलाई पनि इन्टरनेट प्रयोग गर्न सहज भएको उनले बताए।
नेपाल टेलिकम मुगुका निमित्त प्रमुख विमलकुमार बुढाका अनुसार करिब सात/आठ वर्षदेखि लथालिङ अवस्थामा रहेको मुर्माटपको फोरजी टावर निर्माण सम्पन्न गरी सेवा शुरू गरिएको हो। थार्प टावरबाट रेडियो लिंकमार्फत मुर्माटप टावरमा जडान गरेर फोरजी सेवा सञ्चालन गरिएको उनले जानकारी दिए।
उनका अनुसार हाल सीमित क्षमतामा मात्रै सेवा सञ्चालन गरिएको छ। पावर ब्याकअप भरपर्दो नहुँदा सेवाको दिगोपनमा चुनौती रहेको छ। सात/आठ वर्षअघि खरिद गरिएका पुराना ब्याट्रीले पावर धान्न नसक्ने भएकाले नयाँ ब्याट्री जडानका लागि ठेक्का प्रक्रिया अघि बढिसकेको उनले बताए।
नेपाल टेलिकमका अनुसार उक्त फोरजी सेवाबाट मुर्मा गाउँ, रारा क्षेत्र आसपासका बस्ती, होटल, निकुञ्ज कार्यालय, निकुञ्जमा कार्यरत कर्मचारी, सुरक्षाकर्मी तथा भ्रमणमा आएका स्वदेशी-विदेशी पर्यटक लाभान्वित हुनेछन्।
लामो समयदेखि ठेकेदारको लापरवाहीका कारण टावर निर्माण कार्य अलपत्र परेको थियो। स्थानीयवासीको दबाब र सामाजिक युवा अभियन्ता अनिल बानियाको पहलपछि नेपाल टेलिकमले निर्माण कार्यलाई तीव्रता दिएर सेवा शुरू गरेको हो।
यद्यपि, असार १५ गतेदेखि फोरजी सेवा शुरू भएर मोबाइलमा तीव्र गतिको इन्टरनेट चल्न थाले पनि टावरमा पावर ब्याकअपको समस्या देखिने गरेको छ।
भौगोलिक विकटताका कारण मुर्माटपमा केन्द्रीय विद्युत् प्रसारण लाइन नपुगेकाले टावर पूर्ण क्षमतामा सञ्चालन गर्न समस्या भइरहेको छ।
स्थानीयका अनुसार टावरमा जडान गरिएका ब्याट्रीको क्षमता अत्यन्त कमजोर रहेकाले मौसम खराब हुनेबित्तिकै विद्युत् आपूर्तिमा समस्या आउने र त्यससँगै मोबाइल नेटवर्क तथा इन्टरनेट सेवा पनि प्रभावित हुने गरेको छ।