नेपालमा बढ्दो लागुऔषध संकट, राष्ट्रिय चुनौतीका रूपमा लिनुपर्नेमा जोड [भिडियो]
हाम्रा कुरा
प्रकाशित २०८३ असार १२ शुक्रबार
203
Shares
काठमाडौँ। प्रहरी महानिरीक्षक (आईजीपी) दानबहादुर कार्कीले नेपालमा लागुऔषधको उत्पादन, बिक्री-वितरण, ओसारपसार र सेवनको प्रभाव बढ्दै गएको भन्दै यसलाई राष्ट्रिय चुनौतीका रूपमा लिएर नियन्त्रणमा जुट्नुपर्ने बताएका छन्।
अन्तर्राष्ट्रिय लागुपदार्थ तथा अवैध तस्करीविरुद्ध दिवसका अवसरमा शुक्रबार गृहमन्त्रालयमा आयोजित कार्यक्रममा बोल्दै आईजीपी कार्कीले लागुऔषध नियन्त्रण केवल कानून कार्यान्वयनको विषय मात्र नभई जनस्वास्थ्य र युवाको भविष्यसँग प्रत्यक्ष जोडिएको गम्भीर चुनौती भएको बताए।
उनले पछिल्ला वर्षहरूमा लागुऔषधसम्बन्धी अपराध निरन्तर बढिरहेको तथ्यांकले देखाएको उल्लेख गर्दै यसको रोकथाम, न्यूनीकरण र नियन्त्रणका लागि सबै पक्ष संवेदनशील हुनुपर्ने आवश्यकता औंल्याए।
कार्कीका अनुसार विगत पाँच वर्षमा वार्षिक औसत चार हजार लागुऔषधसम्बन्धी मुद्दा दर्ता हुने र करिब आठ हजार अभियुक्त पक्राउ पर्ने गरेका छन्।
चालु आर्थिक वर्ष २०८२/८३ मा हालसम्म मात्रै पाँच हजार ४७ वटा मुद्दा दर्ता भइसकेका छन् भने सात हजार ७२५ नेपाली, ३२८ भारतीय र १५ अन्य विदेशी नागरिकसहित कुल आठ हजार ६८ जना पक्राउ परेका छन्।
बरामद लागुऔषधको परिमाण पनि चिन्ताजनक रहेको उनले बताए। चालु आर्थिक वर्षमा प्रहरीले ४५ हजार ८५० किलोग्राम गाँजा, ४७७ किलोग्राम चरेस, ४३ किलोग्राम हिरोइन, ५ किलो ७६८ ग्राम कोकिन र १२५ किलो ६६ ग्राम अफिम बरामद गरेको छ।
आईजीपी कार्कीले लागुऔषध नियन्त्रणमा प्रहरीको प्रयास मात्र पर्याप्त नहुने उल्लेख गर्दै सुरक्षा निकाय, सरकारी निकाय, समुदाय, अभिभावक, विद्यालय र नागरिक समाजबीच प्रभावकारी समन्वय र सहकार्य अपरिहार्य रहेको बताए।
आईजीपी कार्कीले सार्वजनिक गरेको तथ्यांकले नेपालमा लागुऔषधसम्बन्धी अपराध नियन्त्रणमा चुनौती थपिँदै गएको संकेत गरे
उनका अनुसार चालु आर्थिक वर्षमा मात्र मुद्दा दर्ता र पक्राउ पर्नेको संख्या विगत पाँच वर्षको वार्षिक औसतभन्दा माथि पुगिसकेको र यसले सीमापार तस्करी नियन्त्रण, युवामाझ लागुऔषधको पहुँच रोक्ने अभियान तथा पुनःस्थापना कार्यक्रमलाई अझ प्रभावकारी बनाउनुपर्ने आवश्यकता छ।