काठमाडौँ । काठमाडौँ उपत्यकामा पछिल्लो २४ घण्टाभित्र सवारी नियम उल्लङ्घन गर्ने २ हजार ४ सय ८ जना सवारीचालकहरू ट्राफिक प्रहरीको कारबाहीमा परेका छन्। उपत्यकाका विभिन्न स्थानमा गरिएको नियमित तथा विशेष चेकिङका क्रममा उनीहरूलाई कारबाही गरिएको हो। यस कारबाहीबाट राज्यकोषमा ४ लाख ५८ हजार रुपैयाँ राजस्व दाखिला भएको छ।
काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयले सार्वजनिक गरेको विवरण अनुसार कारबाहीमा पर्नेहरूमा सबैभन्दा बढी अन्य विविध सवारी नियम पालना नगर्ने १ हजार ३ सय ३५ जना रहेका छन्। त्यसै गरी तीव्र गतिमा सवारीसाधन हुइँक्याउने २ सय ८४ जना, ट्राफिक सङ्केत बत्ती (ट्राफिक लाइट) उल्लङ्घन गर्ने १ सय ३८ जना र मादक पदार्थ सेवन (मापेसे) गरी सवारी चलाउने १ सय ४० जना चालकहरू कारबाहीको दायरामा आएका छन्।
पछिल्लो समय चासोको रूपमा हेरिएको नियमविपरीत ‘राइड सेयरिङ’ गर्ने १ सय १६ जना चालकलाई पनि ट्राफिक प्रहरीले कारबाही गरेको छ। यसका साथै सडक पेटी (फुटपाथ) मा सवारीसाधन पार्किङ गर्ने १ सय २४ जना, निषेधित क्षेत्रमा हर्न बजाउने १ सय ६ जना, एकतर्फी सडक (वान वे) मा सवारी चलाउने १ सय १६ जना र लेन अनुशासन पालना नगर्ने ८५ जना चालकहरूमाथि समेत कानुनी कारबाही गरिएको ट्राफिक प्रहरी कार्यालयले जनाएको छ। उपत्यकाको यातायात प्रणालीलाई सुरक्षित र व्यवस्थित बनाउन ट्राफिक चेकिङमा थप कडाइ गरिएको प्रहरीको भनाई छ।