प्रहरीको देशव्यापी गस्ती: विभिन्न स्थानबाट लागुऔषधसहित २३ जना पक्राउ
हाम्रा कुरा
प्रकाशित २०८३ जेठ २३ शनिबार
129
Shares
काठमाडौँ । नियमित गस्तीमा रहेको प्रहरी टोलीले देशका विभिन्न स्थानबाट अवैध लागुऔषधसहित २३ जनालाई पक्राउ गरेको छ।
केन्द्रीय प्रहरी समाचार कक्षले दिएको जानकारी अनुसार प्रहरीले देशका सात वटा जिल्लाहरूबाट उनीहरूलाई नियन्त्रणमा लिएको हो। पक्राउ पर्नेहरूमा सबैभन्दा बढी काठमाडौँबाट ११ जना रहेका छन्। त्यस्तै झापाबाट छ जना र चितवनबाट दुई जना पक्राउ परेका छन् भने सिरहा, उदयपुर, दाङ र कैलालीबाट एक/एक जनालाई प्रहरीले हिरासतमा लिएको छ।
पक्राउ परेका व्यक्तिहरूको साथबाट प्रहरीले प्रतिबन्धित लागुऔषध खैरो हेरोइन (ब्राउन सुगर) र गाँजा बरामद गरेको छ। यसका साथै चिकित्सकको अनिवार्य सिफारिस (प्रेसक्रिप्सन) मा मात्र खरिद–बिक्री गर्न पाइने तर अवैध रूपमा ओसारपसार गरिएका ट्रामाडोल, डाइजेपाम, फेनारगन र बुप्रेनोर्फिन जस्ता फर्मास्युटिकल ड्रग्स (औषधिजन्य लागुऔषध) समेत ठुलो परिमाणमा बरामद गरिएको प्रहरीले जनाएको छ।
पक्राउ परेका सबैमाथि लागुऔषध नियन्त्रण ऐन अन्तर्गत आवश्यक अनुसन्धान र कानुनी कारबाहीको प्रक्रिया अगाडि बढाइएको केन्द्रीय प्रहरी समाचार कक्षले उल्लेख गरेको छ।