चिकित्सक बनेर उपचार गर्ने पौडेललाई सीआईबीले गर्यो पक्राउ
हाम्रा कुरा
प्रकाशित २०८३ असार ११ बिहिबार
370
Shares
काठमाडौँ । नेपाल मेडिकल काउन्सिलको दर्ता प्रमाणपत्र (लाइसेन्स) बिनै गैरकानुनी रूपमा चिकित्सा अभ्यासमा संलग्न रहेको आरोपमा एक महिला पक्राउ परेकी छिन्। नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) बाट खटिएको विशेष टोलीले काठमाडौँको साविक मातातीर्थ गाविस–७ की ४७ वर्षीया चेतन एएम पौडेललाई पक्राउ गरेको हो।
सीआईबीका अनुसार पौडेलले चन्द्रागिरी नगरपालिका–८ मा सञ्चालित ‘स्पार्क इन्टरनेशनल हेल्थ रिसोर्ट’ मा आफूले प्राप्त नै नगरेको चिकित्सक (डाक्टर) को उपाधि अवैध रूपमा प्रयोग गरिरहेकी थिइन्। उनले मेडिकल काउन्सिलमा दर्ता नै नभई बिरामीहरूको आधुनिक चिकित्सा पद्धतिअनुसार रोगको निदान तथा उपचार गरिरहेको अवस्थामा प्रहरीले फेला पारेको हो।
सक्कली डाक्टर बनेर सर्वसाधारणको स्वास्थ्यमाथि खेलबाड गर्ने पौडेलविरुद्ध प्रहरीले मुलुकी अपराध संहिता, २०७४ अन्तर्गत 'इलाजसम्बन्धी कसुर' मा मुद्दा दर्ता गरेको छ। जिल्ला अदालत काठमाडौँबाट म्याद थपको अनुमति लिई उनीमाथि घटनाबारे विस्तृत अनुसन्धान भइरहेको सीआईबीले जनाएको छ।