काठमाडौँ। स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले हाल देशभर करिब १० हजार भायल एन्टीरेबिज खोप मौज्दात रहेको जनाएको छ।
मन्त्रालयका सहप्रवक्ता डा. समीरकुमार अधिकारीका अनुसार केन्द्रीय, प्रादेशिक तथा जिल्ला स्तरीय अस्पतालका भण्डारमा हाल १० हजार ११ भायल एन्टीरेबिज खोप उपलब्ध छ।
उनले विश्व स्वास्थ्य सङ्गठनको सहयोगमा दुई हजार ५०० भायल एन्टीरेबिज खोप प्राप्त भइसकेको र थप चार हजार ५०० भायल खोप आगामी केही दिनभित्र प्राप्त हुने सुनिश्चित भएको जानकारी दिए।
देशभर रेबिज रोकथाम तथा उपचार सेवाको निरन्तरता सुनिश्चित गर्न मन्त्रालयले सम्बन्धित निकायसँग समन्वय गरी आवश्यक पहल अघि बढाएको जनाएको छ।
मन्त्रालयले स्थानीय तहलाई कुकुर तथा अन्य जनावरको टोकाइ व्यवस्थापन तथा आवश्यक खोप सेवाको सहजीकरण गर्नसमेत अनुरोध गरेको छ।
उपलब्ध खोपको व्यवस्थित वितरण तथा व्यवस्थापनमार्फत सेवा प्रवाहलाई निरन्तरता दिन सम्बन्धित निकायसँग नियमित समन्वय भइरहेको सहप्रवक्ता अधिकारीले बताए।
उनका अनुसार, शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल, टेकुमा मात्रै करिब ४० दिनलाई पुग्ने एन्टीरेबिज खोप मौज्दात रहेको छ।
स्वास्थ्य सेवा विभागमार्फत नियमित खरिद प्रक्रिया सम्पन्न भएपछि खोप आपूर्ति प्रणाली पूर्णरूपमा नियमित हुने अपेक्षा गरिएको मन्त्रालयले जनाएको छ। रासस