arrow

जनस्वास्थ्य सुधारका लागि सरकार प्रतिबद्ध: स्वास्थ्यमन्त्री मेहता

logo
हाम्रा कुरा
प्रकाशित २०८३ जेठ २४ आइतबार
nisha-mehata-minister-15-01.jpg

काठमाडौँ। स्वास्थ्य तथा खाद्य स्वच्छतामन्त्री निशा मेहताले खाद्यजन्य रोगलाई गम्भीर जनस्वास्थ्य चुनौतीका रूपमा लिँदै त्यसको समाधानका लागि सरकार प्रतिबद्ध रहेको बताएकी छन्।

विश्व खाद्य स्वच्छता दिवसका अवसरमा शुभकामना सन्देश जारी गर्दै उनले खानपानको सुनिश्चिततामार्फत जनस्वास्थ्य सुधार ल्याउन सरकार सदैव प्रतिबद्ध रहने बताएकी हुन्।

मन्त्री मेहताले खाद्य स्वच्छता तथा गुणस्तर ऐन, २०८१ को प्रभावकारी कार्यान्वयनलाई सरकारले उच्च प्राथमिकतामा राखेको उल्लेख गरेकी छन्।

साथै खाद्य परीक्षण प्रयोगशालाको सुदृढीकरण, जोखिममा आधारित बजार अनुगमन र नीतिगत सुधारका कार्यलाई तीव्रता दिइने उनले बताएकी छन्।

उनका अनुसार खाद्यपदार्थको उत्पादनदेखि उपभोगसम्मको सम्पूर्ण प्रक्रियामा स्वच्छता कायम गर्नु सरकारको जिम्मेवारी हो। यसका लागि असल कृषि अभ्यास, असल उत्पादन अभ्यास र उचित भण्डारणजस्ता विधि अपनाउन आवश्यक रहेको उनले बताएकी छन्।

मन्त्री मेहताले असल अभ्यासले बजारमा गुणस्तरीय खाद्यपदार्थको उपलब्धता सुनिश्चित गर्नुका साथै अस्वस्थ्यकर खानपानबाट हुने मानवीय क्षति र आर्थिक भार कम गर्न सहयोग पुग्ने उल्लेख गरेकी छन्।

उनले यस दिवसले खाद्य शृङ्खलामा आबद्ध उत्पादक, व्यवसायी तथा उपभोक्तालाई स्वच्छ खानपानको महत्त्व आत्मसात गर्न र आफ्नो भूमिकाप्रति जिम्मेवार बन्न प्रेरणा मिलोस् भन्ने शुभकामना समेत व्यक्त गरेकी छन्।

आज नेपालसहित विश्वभर ‘सबैतिर स्वच्छ खानपान, खाद्यजन्य समस्याको पहिचान’ भन्ने मूल नाराका साथ विश्व खाद्य स्वच्छता दिवस मनाइँदै छ।

विश्व स्वास्थ्य सङ्गठनका अनुसार दूषित खानाका कारण प्रत्येक वर्ष करिब ६० करोड मानिस बिरामी पर्ने र करिब चार लाख २० हजार मानिसको ज्यान जाने गरेको छ।रासस



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ